काठमाडौं । ओपनर आसिफ शेख र सन्दीप जोराको अर्धसतकको मद्दतमा वेस्ट इन्डिजविरुद्ध जारी टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । युएईस्थित शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको हो । नेपालको लागि सन्दीप जोरा र आसिफ शेखले अर्धसतक पूरा गरे । ओपनर आसिफ ४७ बलमा ६८ रन बनाउँदै नटआउट रहे । उनले ८ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्दीपले ६३ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६३ रन बनाउँदा अदिल अलामले ११, कुशल मल्लले ७, गुलसन झाले ६, कप्तान रोहित पौडेलले ३ र कुशल भुर्तेलले २ रनको योगदान गरे ।
वेस्ट इन्डिजको लागि कप्तान अकिल होसिनले ४ ओभरमा २१ रन दिएर दुई विकेट लिँदा कायल मेयर्सले दुई ओभरमा २६ रन दिएर दुई विकेट लिए । अब वेस्ट इन्डिजले जवाफी ब्याटिङ गर्नेछ ।