‘अझै विद्वता छाँट्ने र प्रवचन दिने काम नगर्नुस्, एमालेजनको आलो घाउमा अकबरे दलेजस्तो हुन्छ’

-सुवोधराज प्याकुरेल

चुनाव हुनै नदिने । चुनाव लड्नै नदिने । हुकुम अनुसार नेतृत्व चयन हुनु गर्नुपर्ने । यो थियो एमालेलाई विकृत विद्रुप अलोकतान्त्रिक र निरंकुश बनाउने खेल । यो खेलका नायक थिए इञ्चार्जहरु, जो अध्यक्ष ओलीका हामी मात्र हौँ आधिकारिक प्रतिनिधि भनेर अरुलाई धम्क्याउँथे तर्साउँथे । कतिपय अवस्थामा ओलीसँग मोबाइलमा कुरा गर्थे र उहाँबाटै प्राप्त आदेश उहाँकै स्वरमा अरुलाई सुनाउँथे । ओलीसँग हप्तैपिच्छे खिचेको आफ्नो तस्बिर फेसबुकमा अपलोड गर्थे।अर्थात ओली भक्त भए बापत संत्रासका बाहक थिए ।
प्रतिष्पर्धाबाट श्रेष्ठताको एमालेको दर्शनले हावा खायो । पार्टीको लोकतान्त्रिकरणको एजेण्डा ओली–भक्तिमा खुम्चियो । इञ्चार्ज भनेको बैचारिक कुरामा सहजीकरण गर्नका लागि मात्र हुनुपर्ने । तर उनीहरु संगठनको बैठकका एजेण्डा निर्णय र उम्मेदवारको चयनलगायत हरेक कुरामा हाबी भए । संगठनहरु विस्तारै प्राविधिक र बुख्याँचा जस्ता बनाइयो।

अहिले पनि पार्टी नेतृत्व सम्हालिएको छैन। सच्चिने लक्षण पनि छैन। ज–जसले आफूलाई सुरक्षित पारिसके तीनको चुल्हामा मेवामिष्ठान्न निरन्तर रहला।बिचार र बैचारिक इमानमा रहेका कार्यकर्ताको तेजोवध भएको छ।उनीहरु ज्युँदै मरेका छन।खासमा दम्भमात्र होइन उनीहरु अहंकारको शिकार भएका छन्।
धिक्कार छ ती स्वार्थी स्वाँठ चाप्लुस तथा तिनको कुरामा भुलेर आफ्नो अहंकारको पृष्ठपोषण हुँदा,आफ्नो व्यक्तिपुजा हुँदा रमाउने पार्टी नेतृत्वलाई ।

मदन बारम्बार भन्नुहुन्थ्यो ‘जो आलोचनाको घेराभित्र रहँदैन त्यसले कहिल्यै उन्नति गर्न सक्दैन।’ यहाँ त जसले आलोचना गर्यो त्यो बेदखलमा पर्यो । कमरेड ओली, तपाईंले आफ्नो, आफ्नो पार्टीमात्र होइन काँग्रेस माओवादी र लोकतन्त्र सबैलाई भड्खालोमा हालेको अभियोगको जवाफ दिनुपर्ने छ । कहिले दिनु हुन्छ ? तर अझै विद्वता छाँट्ने र प्रवचन दिने काम नगर्नुहोस् । एमालेजनको आलो घाउमा अकबरे दलेजस्तो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *