वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको ह्वाइट हाउस भ्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व सङ्कट समाधानमा विशेष प्रगति हुने सङ्केत दिएका छन् ।
ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै भनेका छन्, “हामीसँग मध्यपूर्वमा महानताको वास्तविक मौका छ । सबै कुनै विशेष कुराका लागि सहमत भएका छन्, पहिलो पटक सबै पक्ष बोर्डमा छन् । हामी यसलाई पूरा गर्नेछौँ !!!”
यसअघि शुक्रबार वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै उनले गाजासम्बन्धी ‘मलाई लाग्छ हामीसँग एउटा सम्झौता छ’ भनेका थिए ।
सोही दिन संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै नेतान्याहुले पश्चिमी शक्तिहरू — बेलायत, फ्रान्स लगायतले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको केही दिनमै — इजरायलले त्यसलाई अस्वीकार गर्नेछ र हमासविरुद्ध ‘काम समाप्त गर्ने’ सङ्कल्प व्यक्त गरेका थिए ।
नेतान्याहुले सोमबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।