नयाँदिल्ली । दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उनका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ ।
शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भिड आउँदा त्रास फैलियो र घातक दुर्घटना भयो ।
भारतमा यस्ता भीड दुर्घटनाहरू प्रायः ठूलो जमघट र कमजोर सुरक्षा तयारीका कारण हुने गरेका छन् । यसपटक पनि अपर्याप्त प्रहरी उपस्थिति, रूखमा चढेका केही मानिस दर्शकहरू खस्नु र घन्टौँ लामो पर्खाइले दुर्घटनालाई चर्काएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्रहरीले विजयको पार्टीका वरिष्ठ सदस्यहरू बुसी आनन्द, जी.आर. निर्मल कुमार र भी.पी. मथियाजगनविरुद्ध मुद्दा दर्ता गरेको छ ।
वरिष्ठ प्रहरी अधिकारी एस. डेभिडसन देवसिरवथमले भने, ‘मुद्दा दर्ता भइसकेको छ । अनुसन्धानले यसमा संलग्न सबैको पहिचान गर्नेछ ।’
वरिष्ठ जिल्ला अधिकारी एम. थाङ्गावेलका अनुसार मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ, जसमा नौ जना बालबालिका छन् ।
विजयले विज्ञप्ति जारी गर्दै भनेका टन्, ‘मेरो हृदयमा परेको पीडा व्यक्त गर्न शब्द छैन । यो अपूरणीय क्षति हो ।’
उनले प्रत्येक पीडित परिवारलाई २० लाख रुपैयाँ (करिब २२ हजार अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा विजयले आतङ्क फैलिनुअघि आफ्ना समर्थकलाई पानीको बोतल फ्याँक्दै गरेको देखिएको छ । भीड अनियन्त्रित बनेपछि उनले आफ्नो भाषण रोक्नुपरेको थियो ।