संसद विघटन गर्नु ठूलो भूल

-डा. युवराज संग्रौला ।

नेपालमा राजनीति कुसंस्कार र भ्रष्टाचार त मौलाएकै छ । यी दुई अबान्छित कुराले मानिसको जीवन ध्वस्त पारेको छ । नेपालमा मलाई एउटा कुरादेखि डर लाग्छ, त्यो ‘कुनै सरकारी अड्डामा कुनै काम पर्यो भने।’ यो निकम्मा कर्मचारीतन्त्रलाई राजनीति कुसंस्कार र भ्रष्टाचारले मलजल गरि दियो । जतिसुकै राजनीति सुधार र परिवर्तन गर्नुहोस्, यो घुमान, गलाउने र झुक्याउने कर्मचारीतन्त्रको संरचना नबदलेसम्म देशमा केही हुने छैन । अहिले जुन हिंसा सडकमा देखियो, त्यसको जरो कारण कहीँ न कहीं यो कर्मचारीतन्त्रसँग जोडिन्छ । मानिसका दिमागमा अब्यक्त आक्रोश छ। म यसलाई पुष्टि गर्ने प्रयास गर्छु।

१. गरिबी छ, भ्रष्टाचार छ, नेताका बकवास छन् र उसको जनतालाई नोकर मान्ने प्रवृत्ति छ । यी कारणले मानिसमा निरासा छ र आक्रोश छ । तर उसको विवेक र संस्कारले उसलाई हिंश्रक हुनबाट रोक्छ । यो सामान्य अवस्था उसको ‘साँचो व्यक्तित्व हो।’ तर कहीं कतै कुनै घटना हुन्छ, र तो व्यक्तिले देख्यो भने अचानक उसको ‘दबित आक्रोश र निरासाले निर्माण गरेको छायाँ’ व्यक्तित्व प्रकट हुन्छ, अनि अहिलेसम्म हिंसाको विरोध गर्ने त्यो व्यक्ति अचानक छायाँ व्यक्तित्वमा रुपान्तरित भै हिंश्रक बन्दछ।

२. तर २३ गतेको घटना यस्तो होइन । जुन युवा पुस्ता आन्दोलनमा आएको थियो, त्यो त सुरक्षा फौजसँग लड्न गएकै होइन। जहाँ झडप भयो त्यहाँ त ‘आन्दोलनलाई सुनियोजित रुपमा अपहरण गर्ने’ जत्था आइसकेको थियो । भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने युवा त निर्धक्क थियो, गोली चल्दैन। त्यसैले ऊ सतर्क पनि थिएन, तसर्थ भत्किएको वातावरणमा गोली निर्दोष युवालाई लाग्यो। र, आन्दोलन हाइज्याक गर्नेलाई खोजेको वातावरण तयार भयो।

३. यो अवस्था ‘छायाँ’ व्यक्तित्वको होइन। यो जेनजी आन्दोलनको नाममा स्वार्थ पूर्तिगर्ने समूहको अपराध थियो। मैले अहिलेसम्म अध्ययन गर्दा तीन खालका गैरजेनजी मानिस देखें । (१) नियोजित रुपमा कसैके प्रयोग गरेका मानिस, (२) केही थाहा अतोपत्तो नभएको लहीलहीमा कुदेको अल्पज्ञानी जो आफूलाई दुस्साहसी काम गरेको देखाएर तत्काल स्यावासी बटुल्ने व्यक्ति, र (३) लुटेरा, चोर र ड्रगिष्ट। यी पछिल्ला दुईथरी पहिलो घुसपैठियाबाट प्रयोग भयो। पहिलो थरीका व्यक्तिहरु भित्र पनि दुई थरीका मानिस थिए (क) कुनै एक वा अनेक दलका कार्यकर्ता, जो कांग्रेस र एमालेलाई चखाउन चाहन्थे। रास्वपा र राप्रपाका कुनै नेता र कार्यलय किन तोडिएनन् ? यो प्रश्न खोज पत्रिकाको काम हो, यथार्थ बाहिर ल्याउने । यात यी दलहरू नै संलग्न थिए वा जनताले यी दललाई राजनीतिक संस्कार भएका मान्दछन् । आउने समयले यो कुरा बाहिर ल्याउने नै छ । आशा गरौं उनीहरुप्रति जनता खुसी थिए।

४. दृश्य अदृश्य विदेशी एजेन्टले घुसपैठ गरेकै हुन् । सिंहदरवार, अन्य मन्त्रालय, संसद भवन, शीतलनिवासको आगलागी विदेशीले नेपाललाई कमजोर पार्न गरेका हर्कत नै हुन् भने नेताका घर जलाउनेहरु धेरैजसो लुट्ने मानिस नै हुन् । आन्दोलनकारी क्रुर हुँदैनन्, किनकी उनीहरु अधिकारको लडाईँ लड्छन् । लुटेरा क्रुर हुन्छन् किनकी उनीहरु अधिकारको लडाईँ लडिरहेका हुन्नन् ।

५. यो आन्दोलनको लडाईँ प्रकट रुपमा भारत र अमेरिकाबीचको नेपालमाथि पूर्ण एकलौटी प्रभावका लागि हो भन्ने देखिन्छ । यसको कारण भूराजनीति हो । अतः यो भूराजनीतिले निर्धारण गर्दछ। अमेरिका नेपाल भारत र चीनलाई नियन्त्रण गर्न चाइन्छ । भारतलाई नेपाल उसको सुरक्षाका लागि चाहिन्छ । दुवैको चीनसँग चिसोपन छ । शुरुमा यो आन्दोलनलाई अमेरिकी कलर रिभोलुसनको रणनीतिले आगाडी ल्यायो तर २४ गते भारतले अपहरण गर्यो। अमेरिकाले आफूसँग जोडिएका युवामार्फत सडकमा ल्यायो। भारतले लामो समयदेखि प्रयोग गरेका एजेन्टमार्फत यो आन्दोलनलाई हिंश्रक बनायो। यसको लक्ष्य ओलीलाई अपधस्त गर्नु र नेपालमाथी चुच्चे नक्साको अन्त्य गर्नु थियो।

यो आन्दोलनमा भूराजनीतिले नै सबैभन्दा ठूलो भूमिका खेल्यो । अतः संविधान खारेज गर्नु भनेको नेपालको अस्तित्वलाई अन्धकारतिर धकेल्नु हो। संसद विघटन गर्नु ठूलो भूल भयो। यी वस्तुगत यथार्थलाई बुझ्न गाह्रो छैन । होस् गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *