नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनु भएको हो र ?

–सुमना श्रेष्ठ

पार्टीभित्रै रहनु भएका र मलाई विश्वास गर्नुहुने साथीहरुलाई म प्रति फैलाईएको अनर्गल र झुठा प्रचारको विरुद्ध सचेत गराउन केही कुरा भन्न चाहेँ ।

१. अवसरवादको परिभाषा अर्कै हुन्छ भने फरक पर्ला तर व्यक्तिगत स्वार्थ र लाभको निम्ति आफ्नो नैतिक धरातल र राजनैतिक मूल्य मान्यताबाट च्यूत हुनु नै अवसरवाद हो भने, तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किन्छ कि फर्किँदैन ? त्यही प्रवृतिलाई मलजल दिएर नयाँ केपी, नयाँ शेरबहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाइदा देख्नु अवसरवाद हो कि होइन ? त्यस प्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत ? क्षणिक लोकप्रियता र केही थान गालीबाट बच्न एक शब्द चुइँक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो कि त्यस्तो प्रवृति विरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो ? म साथीहरुलाई प्रश्न गर्न चाहन्छु ।

२. पार्टीको आधिकारिक धारणा जस्तो गरी गल्ती भयो भनेर स्वीकार गर्ने तर कुनै कारबाही नगर्ने तथा आचरण र प्रवृतिमा कुनै सुधार नगर्ने हो भने कुन मुखले पुरातनवादी दलहरुको विरोध गर्ने ? नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने ? सामान्य नेपाली नागरिकहरु अगाडि उभिएर हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन ? एकचोटि आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस् ।

३. प्रधानसेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाईं’ पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हो । आन्दोलन सुरु हुनु अगाडि आन्दोलनरत युवा पुस्ताले कुनै राजनीतिक पार्टीको झण्डा वा एजेन्डा बोकेर नआउनु भनी स्पष्टताका साथ भनिसकेको अवस्थामा जेनजी आन्दोलनमा हाम्रो सहभागिता देश प्रति निष्ठावान नागरिकको भन्दा बढी थिएन र हुनुहुँदैन थियो । सहादत प्राप्त गर्नुभएको ७४ नेपाली वीर विरांगना, सयौँ घाइते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरी त्यतिबेला जङ्गी अड्डा धाउनु ‘दुर्गा प्रसाईं’ सँगै उभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो । हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन् भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरु र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला । यस्तो विषम परिस्थितिमा आफूले नगरेको संघर्ष र आफूले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनताविरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र ? हामीलाई सुमनाले लाइभ आएर जङ्गीअड्डा जानबाट रोकी भनि मेरोविरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनु भो ? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनु भएको हो र ?

४. भ्रम र झुठको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परीक्षण हुनेनै छ । लोकप्रियताको बुई चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाइमा आफ्नो स्वाभिमान बन्दकी राखेका केही साथीहरु देख्नुपर्दा लालच र निरीहता उर्बराउने डर पलाएको छ । याद राख्नुस् – लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो । निरीहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो ।

वैकल्पिक राजनीतिमा आउनेहरुलाई सोध्न चाहन्छु –तपाईंहरु राजनीतिमा आफ्नो अलग पहिचान, देश बनाउने हुटहुटी र आफ्नो विशिष्टता राष्ट्र र सम्पूर्ण नेपालीहरुप्रति समर्पित गर्न आउनु भएको कि वैकल्पिक शेरबहादुरको लागि वैकल्पिक प्रकाशशरण वा वैकल्पिक केपीको लागि वैकल्पिक महेश बस्नेत बन्न आउनु भएको हो ? यतिनै यक्ष प्रश्न सोध्दै र इमानदार उत्तरको अपेक्षा गर्दै देश प्रति निष्ठावान र प्रतिबद्ध रहने वाचा गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *