-सुवोधराज प्याकुरेल
प्रधानमन्त्रीको सम्बोधनको क्रममा सबै मन्त्रीको नेमप्लेटमा श्री फलानो, मन्त्री लेखिएको देखियो । तर प्रधानमन्त्रीको नेमप्लेटमा सम्माननीय लेखेको देखियो । पञ्चायती शासनकालमा सम्माननीय÷माननीय लेख्ने सामन्ती सम्बोधनको चलन चल्यो ।
संविधानले यो स्वस्ती अनिवार्य गरेको छैन । २००७ पछिका प्रजातान्त्रिककालका मन्त्री प्रधानमन्त्री मात्र होइन ०४६ पछिका किसुनजी शेरबहादुर वा सुशील कोइराला वा गिरिजाप्रसाद कोइरालाको बेलामा आफूले आफैलाई सम्माननीय लेखेको लेटरहेड थिएन । प्रजातान्त्रिक सरकारका पालामा त बढीमा माननीय लेखेको र पार्टीका नेताहरु सबैले साथी सम्बोधन गरेको समेत देखिन्छ ।
श्री सुशीला कार्की हाम्रा लागि समादरणीय हुनुहुन्छ । यो कुरा मनभित्रको कुरा हो । तर आफूले आफैंलाई सम्माननीय दर्शाउने प्रचारले नयाँ पुस्ताको पदीय अलंकार प्रतिको वितृष्णालाई सम्बोधन गर्दैन ।
यो सरकारले धेरै काम गर्न नसक्ला । तर नयाँ संस्कार संस्कृतिको निर्माण गर्न सक्छ । संविधान संशोधनको एजेण्डालाई व्यापक रुपमा सार्वजनिक सरोकारको बिषय बनाउन विश्व विद्यालयलगायत तमाम बौद्धिक जगतलाई अभिप्रेरित गर्न सक्छ।दलहरुको आन्तरिक लोकतन्त्र र संघीयतालाई तलबाट माथि शक्ति विन्यास हुने इभोल्युसनरी ढाँचामा लैजाने उपायतर्फ आमनागरिकबाट सल्लाह सुझाव लिन सक्छ ।
सार्वजनिक प्रशासनलाई सेवाग्राहीलाई सहजीकरण गर्ने,सम्मान गर्नेगरी आमूल परिवर्तनको ढाँचामा लैजान सटिक दस्तावेज निर्माणलाई सहजीकरण गरिदिने सक्छ । खासमा यो मन्त्रिपरिषद ६ महिनाको मात्र हो । तर यसका सबै व्यक्तिको सम्मान चीरकाल रहनेगरी अतिरिक्त क्षेत्रमा वहस आरम्भ मात्र गरिदिएमा आन्दोलनले यो सरकारलाई मनभरीको धन्यवाद दिनेछन् । समादरणीय सुशीला दिदीले सगोलमा सुनुवाई गरिदिनु हुने अपेक्षा सहित ।