देश विदेशीहरुको खेल मैदान नबनोस्

-डा. युवराज संग्रौला ।

राष्ट्र ‘माटो र आकाश’ त हो नै तर त्यति मात्र होइन । राष्ट्र नागरिकको पहिचान पनि हो।’ अनि यसरी माटो, आकाश र पहिचान’ को पुन्ज बन्छ, अनि देश बन्छ । धेरै राष्ट्रको पहिचान मासियो ती देश मरे । तर मेरो देश आज पनि जिवित छ, किनकी आजपनी यस्को पहिचान छ र त्यही पहिचानले म नेपाली हुन पाएको छु । तर मेरो यो पहिचान आज दुषित बनेको छ ।

१. लोकतन्त्रकोलागि महान त्याग गर्दै स्थापित भएका राजनीतिक दलहरू ‘अश्लिल सुखको दास हुनपुगे, र उनीहरुका कारणले बिपी कोइराला कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, पुष्पलालका सालिक पनि जले । भूपिको सालिकसम्म जल्यो भन्ने सुनें । हो, हाम्रा देशका कुनाकुनामा विदेशी उडुस छन् । तर विगत ३० वर्षमा यी उडुसलाई तपाईं केही थान नेताले डस्नामा राख्नुभयो । आज युवाले ज्यान गुमाए र देश डढ्यो । कलिकति पनि आत्मसमीक्षा गर्नुभएको छ ? मलाई विश्वास छ, गर्नुभएको छैन !!

२. पूर्वप्रधानमन्त्री केपी ओलीज्यू, पक्कै पनि बिर्सनु भएको छैन होला । संयुक्त कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार थियो । नेपाल रायट्रको बिखन्डनको पेचिदो एउटा विषयमा सुवास नेम्वाङज्यूमार्फत मलाई हाजिर हुने आदेश बक्स भयो र हाजिर भएँ । यो कुराकानी दुई घण्टा भएको थियो । मैले भनेको थिएँ, ‘हाम्रो भूराजनीतिमा वामपन्थी विचारका लोकतान्त्रिक शक्तिको सरकारकाविरुद्ध घेराबन्दी हुन्छ, बिपी कोइरालाको सरकार समेत लडेको देश हो । तसर्थ विद्वान विज्ञहरुलाई जागिर र पदबाट होइन देश निर्माणका लागि विश्वासमा लिनुहोस् ।’ कुरा सकियो। तंपाईंले तपाईंको सहयोगीलाई उहाँले जतिबेला फोन गरेपनि फोन दिनु भनेर हटलाइन दिनुभयो । भवनको गेटमा आएर बिदागर्नु भयो।’ त्यसपछि मैले । बालुवाटार पस्ने मौका पाइन । किन ?किन तपाईंलाई जागिर नखोज्ने हामी जस्ता संघ घृणा हुन्थ्यो ? मैले पछिल्ला दिनमा पटक पटक बालुवाटार विज्ञलाई बन्द नगर्नुहोस् भनी रहें । म आशिर्वाद र श्रापमा विश्वास गर्दिन । तर, हामीजस्तालाई बन्द गरेको बालुवाटारमा तपाईं स्वंयमले हेलिकप्टरमा निकल्नु पर्यो । तपाईंका वरीपरीका उडुसले तपाईं र लोकतन्त्रका लागि घात गरे । उनीहरुले अथाह कमाए, तर घर तपाईंको डढ्यो । खोइ ती हिजोका एक पल्टमा चार पद खाएर ढाडिएका मान्छे । उनीहरु अहिले पनि आनन्दित छन् । तपाईंको गल्ती वामपन्थी राजनीतिका लागि मंहङ्गो पर्यो । म अहिले टेलिफोनमा चप्पल लगाएर पार्टीको काममा हिंडेका घरबारबिहीन मानिसका फोन सुनेर दिक्क मान्छु । नेताले ‘भोलिको दिन ख्याल गरेन भने’ जनताको भोलिले दुःख पाउँछ । पार्टी युवाहरूलाई छोडेर तपाईंलाई मूर्ख बनाउने उडुसका बारेमा पुस्तक लेख्नु होस् । आत्मसमीक्षा गर्दै भित्रका खेल देखाउनुहोस् । मेरो सल्लाह हो, एउटा चिनजानको मान्छेका हैसियतले।

३. प्रचण्डज्यू यहाँसम्म पनि धेरै पटक भेट भयो । अन्तरंङ्ग कुराकानी भयो। तपाईंको दरबारको टुंसी सिसा बैठकमा मैले भनेको थिएँ । हेगको भय छोडनुहोस्, जनताका लागि काम गर्नुहोस् । देशका गरीबको जीवन परिवर्तन होस् । विज्ञको प्रयोग गर्नुहोस् । उपिंयाँ धेरै छन् तपाईंसँग अन्तबाट उफ्रिएर आएका । यिनको नियत चुस्नु हो । तर तपाईंपनि ‘राजनीति भनेको अवसरको खेल’ भन्ने कुरामै व्यस्त रहनु भयो । महल केही होइन, कामरेड । यसले कहाँ जोगाउँदो रहेछ र ? युवाहरूलाई नेतृत्व दिनुहोस् र आराम गर्नुहोस् । आजको यो दिन आउन कति जिम्मेवारी तपाईंका पुस्ताको छ खोजमेल गर्नुहोस् ।

४. देउवा र आरजुज्यू, मेरा विद्यार्थीहरु तपाईंका सहयोगी थिए । तपाईहरुका भला कुरा गर्थे । संकटकालको भूमरी बढिरहेको थियो । तपाईंले प्रतिनिधिसभा मार्नुभयो । तर एकदिन आयो तपाईंनै बिदा हुने दिन आयो । यहाँले सेनाको गाडीहरू लिएर मलाई बालुवाटार बोलाएको सम्झिन्छु । लामो छलफलबाट संकटकाल रोक्ने उपायहरुको छलफल भयो । तर तपाईंका उडुसहरुले एकैछिनमा तपाईं बादशाह भनेर विश्वास दिए । अन्ततः तपाईंहरुका पदीय अतिआकांक्षाले गणेशमानको पुख्र्यौली घर समेत जल्यो ।

इतिहासले सबै अभिलेख राख्छ, जनताका मनमा । म फ्रेन्च क्रान्ति सम्झन्छु । क्रान्तिका नायक रोबेस्पियर र माराले सबैको घाँटी छेदन गरे। क्रान्ति पहिलाका शासकहरु लम्पट थिए। उनका विरुद्धमा जनता विद्रोहमा निक्ले । राजा लगायतका शासकहरु मारिए तर क्रान्तिको उन्मादमा रोबेसपियर र मारा पनि बचेनन् ।
जिम्मेवारी विनाको राजनीति “निंरकुशता“ नै हो, भलै त्यसले गोलीले मान्छे मारेको नहोला । तर भोक रोगले अनि भ्रष्टाचारले धेरै नेपाली मरे तपाईंहरुको ‘म्युअजिकल चेयरको खेलमा’। अब नेपाली रोबेस्पियर र माराको के हुने हो थाहा छैन। तर देशले धेरै दुःख पायो । जनताको रगत मात्र बगेको छैन, नागरिकको आत्म पनि मरेको छ। क्रान्तिले परिवर्तन ल्याउँदैन । परिवर्तन क्रान्ति पछिको ‘दिमागले चल्ने जनताको अभिभावकत्व गर्ने’ मन र दिमाग वा विवेक र बुद्धिले चल्ने राज्यले मात्र परीवर्तन ल्यांउछ। अतः अब को निकास हो,

१. राजनीतिक दलहरूमा पुस्तान्तरण र माफियाहरुको उन्मूलन।
२.देशभक्त बौद्धिकहरुको राजनीतिमा उदय,
३. भूराजनीतिको गहिरो समझदारीसहित, छिमेकीहरुमा नेपालको राजनीतिक स्थिरताकोबारेमा भरोसा ।
४.राज्यको सामथ्र्यको निर्माण र अरुको हस्तक्षेप बिना नेपाली जनताको हितमा निर्णय गर्ने क्षमताको निर्माण
५. भारतसँगको सांस्कृतिक घनिष्टता र चीनसँग ऐतिहासिक सम्बन्ध र लगानी एंवम प्रविधिको विकासमा सहकार्यका साथै सबै मित्रहरूसँगको सुमधुर सम्बन्ध विकास।
६. कृषिको आधुनिकरणको अभियान र आधुनिक बिकासका लागि देशभक्त उद्यमीहरुको संरक्षण
७. स्वरोजगारको प्रत्याभूति गर्ने नयाँ ढाँचाको आधुनिक शिक्षा
ख्याल गर्नु आवश्यक छ, भावनाको शोषण गरेर देश विदेशीहरुको खेल मैदान नबनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *