महिला फूटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीले चिरप्रतिद्वन्द्वी भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले मंगलबार सार्वजनिक गरेको क्यालेन्डर अनुसार नेपालले आगामी महिनामा  भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

उक्त खेलको लागि महिला टोली भारतको सिक्किम भ्रमण गर्नेछ । त्यसपछि महिला टोलीले मङ्सिर ८ गतेदेखि १६ गतेसम्म इन्डोनेसियामा घरेलु टोली र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेल खेल्नेछ । लगत्तै मङ्सिर १९ देखि पौष ५ सम्म नेपालमै साफ महिला क्लब च्याम्पियनसिप हुनेछ । उक्त प्रतियोगितामा साफ राष्ट्रका पाँच टोलीले सहभागिता जनाउनेछन् । नेपालबाट विभागीय टोली नेपाल एपीएफ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै पौष ११ गतेदेखि २२ गतेसम्म च्यासल रंगशालामा एन्फा महिला च्याम्पियनसिप २०२५, माघ ९ गतेदेखि फाल्गुन ५ गतेसम्म सहिद स्मारक  वुमेन्स लिग २०२५ र फाल्गुन ९ गतेदेखि १६ गतेसम्म सहिद स्मारक महिला सुपर लिग २०२५ हुने एन्फाले जनाएको छ ।

पुरुषतर्फ राष्ट्रिय टोलीले भेतनाममा एएफसी एसियन कप छनोट अन्तर्गत आश्विन २३ र २८ गते घरेलु टोलीसँग खेल्नेछ भने मङ्सिर २ गते एसियन कप छनोट अन्तर्गतकै मलेसियासँग र चैत्र १७ गते लाओससँग खेल्ने तालिका रहेको छ ।

एन्फाले प्रेसिडेन्ट लिग २०२५ पनि काठमाडौं भन्दा बाहिर कार्तिक १६ गतेदेखि मङ्सिर ६ गतेसम्म हुने जनाएको छ । यस्तै झन्डै तीन वर्षदेखि रोकिएको सहिद स्मारक ए डिभिजन लिग २०२५ ६ महिना चल्ने क्यालेन्डरमा उल्लेख छ । लिग २०८२ पौष ९ गतेदेखि २०८३ अषाढ २६ गतेसम्म हुनेछ । यसअघि एन्फा यु-१६ युथ लिग २०२५ कार्तिक १७ गतेदेखि मङ्सिर २ गतेसम्म, सहिद स्मारक सी डिभिजन लिग मङ्सिर ४ गतेदेखि २८ गतेसम्म र ललित मेमोरियल यु-१८ युथ लिग २०२५ मङ्सिर २९ गतेदेखि हुने एन्फाको तालिकामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *