सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १३ डंग्राहाका १५ वर्षीय किशोर अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातिदेखि बेपत्ता भएका अभिषेक सिंहको शव मंगलबार बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो ।
उनको शव आधा जलेको अवस्थामा थियो भने शरीरभरी कुटपिट गरेको डाम देखिएको छ । अभिषेकका घरपरवारले रातभरी खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए ।
असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट आमालाई ५ करोड फिरौती दिन सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो ।
अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेण्ट लागेर मृत्यु भएको थियो । बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए । प्रहरीले घटनाकाबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।