कांग्रेसमा पद हस्तान्तरणको स्वभाविक प्रकृयालाई किन बनाइयो दुर्येज्ञ ?

-जेपी गुप्ता

नेपाली राष्ट्रिय कांग्रेसको कुरा न गरौं । बि.स.२००७ पछि मातृकाप्रसाद कोइरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ । समयको यो प्रवाह आज ७५ वर्षको भयो । यस अवधिमा पार्टी सभापतिको रूपमा शेरबहादुर मात्र यस्तो पात्र भए जसले पद हस्तान्तरणको त्यस सरल तथा स्वभाविक प्रकृयालाई दुरूह, दुर्येज्ञ बनाए ।

नेपाली कांग्रेसका चार चाणक्य कहलिएका बीपी कोइराला, सूवर्ण शम्सेर जबरा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय मध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसकाबिरूद्ध दाबी र हानथाप रहेन । कयौं बिषयमा यी चारका बीच गम्भीर मतभिन्नताहरू रहेको थियो । तर, सभापतित्व विवाद रहित रहेको थियो । एकर्कालाई पराजयको तहसम्म पुर्याउने खेल भएन । अपवादको रूपमा नेपाली कांग्रेसको वीरगंज सम्मेलनमा पार्टी सभापतिमा उम्मेदवारी दिएका धनमान सिंह परियारको पनि कुरा न गरौं, यो उम्मेदवारी केही थोरै समयका लागि चार चाणक्य कहलिएका मध्येकै क्षणिक असन्तुष्टिका कारणले मात्र दिन लगाइएको थियो।

नेपाली कांग्रेसको सभापतिको रूपमा बीपी कोइराला २०१७ पौष १ गते पछि जेल पर्नु भएपछि प्रवासमा रहनु भएका सूवर्ण शम्सेर अनेकौं शक्ति केन्द्रहरूको उक्साहटका बावजूद सभापति पदको दाबी गर्नु भएन । उहाँ झण्डै दुई बर्षसम्म बीपी, गणेशमानजीहरूको रिहाइको प्रयास गर्नु भयो। रिहाइको आशा नदेखिएपछि २०१८ सालमा भारतको पटनामा बोलाइएको सम्मेलनमा, राजा महेन्द्रको तानाशाहीकोबिरूद्ध सशस्त्र प्रतिरोध संचालन गर्नका लागि उहाँलाई कार्यवाहक सभापति बनाइएको थियो । त्यसबखत, यस बाहेक कुनै विकल्प नरहेको अवस्था थियो ।

लामो समय पश्चात, बीपी कोइराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बर (बिस २०३४, मंसिर) मा स्वदेश फर्किने क्रममा कलकत्तामा सूवर्णजीलाई भेट्न जानु भएको थियो । अतिशय रूग्ण सूवर्ण शम्सेर बीपीको हात समाएर “तपाईंको नासो नेपाली कांग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईंलाई फिर्ता बुझाउँदछु’ भन्दै उहाहरणीय रूपमा सभापतित्व हस्तान्तरण गर्नुभयो । कलकत्ताबाट फर्किएर बीपीले पटनाको ‘आर ब्लक’ स्थित ‘एमएलए क्लब”मा आयोजित सभामा यो जानकारी गराउनु हुँ म स्वयं पनि साक्षी रहेको हुँ । शायद यसको भोलि वा पर्सीकै दिन सूवर्ण शम्सेरजीको देहावसान भएको थियो । वा, एकाध सप्ताह भित्र । नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो।

पटनाको त्यस सभामा किसुनजी पनि हुनुहुन्थो । यसको साता नबित्दै बीपी पटनाबाट नेपाल फर्किनु भयो । राजा वीरेन्द्रसँग उहाँले त्यस्तै वचनवद्धता गर्नु भएको थियो, अमेरिकामा उपचार पछि नेपाल फर्किने वाचा । नेपाल फर्किनु अघि पटनाको सोही ‘एमएलए क्लब’ को सभामा आफू नेपाल फर्किएपछि अवश्य पनि पक्राउ परिने भन्नु हुँदै ‘आफू जेल परेपछि साथीहरू हाम्रा प्रिय साथी किसुनजी(कृष्णप्रसाद भट्टराई)बाट निर्देशन पाई रहनु हुनेछ भन्नु भयो । यति मात्र भन्नुभयो । पटनाबाट काठमाडौं फर्किन लाग्दा शानेवानिको विमानमा उहाँले ‘योजनावद्ध’ रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जसको नेपाल फर्के पछि गिरफ्तार हुने संभावना थिएन, उहाँलाई काठमाडौंमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिनु भयो । यो पत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए बीपीले किसुनजीलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति र परशुनारायण चौधरी एवं गिरिजाप्रसाद कोइरालालाई महामन्त्री तोक्नु भएको हो । यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहास प्रतिको बेइमानी हुनेछ कि बीपीले यो निर्णय शायद शाब्दीक रूपमा नै सत्य ‘महान उदारमना निस्पृह मानव गणेशमानजी’ को सहमतिबाट गर्नु भएको थियो । यो नेपाली कांग्रेसमा सभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो।

विश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आइपुग्यो, जहाँ विराटरूपधारी गणेशमानजीको सदिच्छा र गिरिजाबाबुको समर्थनबाट किसुनजी पार्टीको निर्विरोध सभापति हुनुभयो । सहमतिबाटै नेतृत्व हस्तान्तरणको यो पछिल्लो उल्लेखनीय उदाहरण थियो । त्यसदिनका समारोहमा, बस्नका लागि स्थान नपाएका धेरै बिल्लादार डन्ठेहरू पछि (भाद्र २३–२४, २०८२ सम्मका) कांग्रेसका भाग्य विधाता बनाइए । शेरबहादुरले तिनीहरूलाई कांग्रेसी सत्ताका ‘धुरी’ नै बनाइदिए । ति मध्येकै धेरैले भन्दै गरेको सुनियो, शेरबहादुर बेगर कांग्रेस जीवित रहन सक्दैन । हो, यो सत्य हो । किसुनजीपछि गिरिजाबाबु सभापति हुने बेलामा नेपाली कांग्रेसको ‘अतुलनीय सहमतिको उदाहरण’ को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो । तरपनि त्यो शिष्ट थियो । किसुनजीले आफू स्वयंलाई गिरिजाबाबुकोबिरूद्ध उम्मेदवार बनाउनु भएन । उहाँले चिरञ्जीवि वाग्लेलाई नेकाको सभापतिमा समर्थन गर्नुभयो । यसमा विवाद छैन कि वाग्ले नेपाली कांग्रेसका त्यसबखत दोस्रो पुस्ताका एक मुख्य नेता थिए । तर, यो पनि सत्य हो कि किसुनजीले वाग्लेको उम्मेदवारीबाट नेपाली कांग्रेस भित्र छायाँ युद्धको शुरूवात गराउनु भयो । यसका लागि पार्टीका त्यसबेलाका दोस्रो तहका धेरै नेताहरू गुटगत ध्रुवीकरणका पात्र बन्न बाध्य भए । जब कि गिरिजाप्रसाद, किसुनजी पछि हकदार हुनुहुन्थ्यो । तर, नेका भित्र घातप्रतिघात यस अघि नै शुरू भैसकेको थियो ।

काठमांडू–१ को उपनिर्वाचनमा किसुनजीको पराजय यसको मुख्य प्रारम्भ बिन्दु थियो, यद्यपि यहाँ यसबारे चर्चा गर्नु परेन । गिरिजाबाबुको खिलाफमा उम्मेदवारीका लागि यहाँ एउटा तर्क दिन सकिन्छ कि एउटै व्यक्ति लामो समयसम्म पार्टी सभापति किन रहने ? यो ठिक हो, जबकी यस अघिको नेपाली कांग्रेसका सभापतिहरूको लगभग असीमित पदावधिले यस तर्कलाई समर्थन गर्दैन । गिरिजाबाबु पछि नेकामा नेतृत्व हस्तान्तरण प्रकृयामा सहमतिको कुनै संभावना रहेन । यस सौहार्दताको समाप्ति भयो। सुशील कोइराला, यसपछि शेरबहादुर देउवाको सभापतित्वमा आरोहण पूर्णतः सशक्त गुटबन्दीको परिणाम थियो । अनि, एउटा सानो गुट तथा देउवाको बिपूल साधन एवं स्रोतका बलमा ‘चरण चाटुकार’ हरूको नेपाली कांग्रेसमा हालिमुहालीको यात्रा आरम्भ भयो । यस उप्रान्त नेका ‘कायाहीन’ सत्ता लोलुपहरूको हातमा गयो । यसबारे धेरै उदाहरण तथा दृष्टान्तहरू दिनु आवश्य छैन। यस उप्रान्तका फोहोरी खेलहरूको चर्चाले यो सानो लेखपनि फोहरी हुन जान्छ। यस अवस्थामा नेपाली कांग्रेसको प्रवेशको परिणाम नै आजको वर्तमानको हविगत हो । दुखः त यस दुरावस्था प्रति छ कि शेरबहादुरले नेकालाई यहाँ पुर्याईदिए जहाँबाट शायद देखिएका नेतृत्वहरू कसैले पनि उकास्ने कुरामा बिश्वास भैरहेको छैन ।

म आज यहाँ योगीहरू तथा सिद्धहस्त सन्तहरूको मृत्युपरान्तको एक परम्परा बताउन चाहन्छु । त्यो हो……..’ठूला र सिद्ध योगीहरूको मृ्त्यु भएपछि योगीलाई जल समाधि वा पंचतत्वमा बिलीन गराईए पछि अन्यन्य भक्त शिष्यहरूले गुरू योगीको कुटीलाई आगो लगाई भष्म पार्दछन्।’ यस्तो चलन छ। धेरैले सोच्दा हुन्, किन नि ? कुटी किन जलाउने नि ? यो परम्परा यस कारणले थालियो, ..’ हेर त्यस कुटीमा मृत्युपर्यन्त पनि सिद्ध योगीको आत्माको बास रहेको हुन्छ । तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन् । पूर्ववर्ती प्रतापी योगीको प्रभावबाट मुक्त हुन्। स्वच्छन्द हुनका लागि।’ नेपाली काँग्रेस अब पनि शेरबहादुरकै नेतृत्वमा स्वच्छन्द छ, पूर्ववर्ती सबै पराक्रमीहरूको सार्थक प्रभावबाट मुक्त हुनका लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *