चीनमा शरीरभित्र निगरानी र औषधि नियमन गर्ने नयाँ रोबोटको विकास

बेइजिङ । चिनियाँ वैज्ञानिकहरूको एक टोलीले शरीरभित्र संवेदनशील कार्यहरू गर्न सक्ने अत्यन्तै सानो र अत्याधुनिक यन्त्र (रोबोट) विकास गर्न सफल भएका छन् । यसले औषधिको सही मात्रा पुरयाउने र शरीरभित्रका विभिन्न शारीरिक अवस्थाहरूलाई निगरानी गर्न सक्ने क्षमता राख्दछ ।

यो यन्त्र चीनको ह्वाजोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय र हङकङस्थित चिनियाँ विश्वविद्यालयका विज्ञहरूको सहकार्यमा तयार पारिएको हो ।

यस यन्त्रको चौडाइ करिब १.३ मिलिमिटर र तौल लगभग ४.६ मिलिग्राम रहेको छ । यो यन्त्रले बल, कम्पन, चिप्लोपन र तापक्रम जस्ता महत्वपूर्ण सूचकहरूलाई ताररहित रूपमा मापन गर्न सक्षम रहेको देखिएको छ ।

परीक्षणका क्रममा यसले सानो र संवेदनशील वस्तुहरूलाई पनि सजिलै सम्हाल्न सक्ने क्षमता प्रदर्शन गरेको छ ।
यसले सुँगुरमा गरिएको परीक्षणमा तापक्रमका सूक्ष्म परिवर्तनहरू पहिचान गर्न सफल भएको छ भने, अर्को संस्करणले खसीको पेटभित्र औषधिको सटीक मात्रा पुर्याउन र त्यसको मात्रा समयक्रममा मापन गर्न सक्ने प्रमाणित गरेको छ ।

अनुसन्धानकर्ताहरूले बताएअनुसार, यी सफल परीक्षणहरूले यस सानो यन्त्रको व्यावहारिक प्रयोग सम्भव बनाएको छ र आगामी दिनमा स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *