एच–वानबी भिसा शुल्क १ लाख डलर पुग्यो

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले अति दक्ष विदेशी कामदार लक्षित एक प्रकारको अमेरिकी भिसाको शुल्क एक सय गुणाले बढाउने योजना सार्वजनिक गरेको छ ।

एच–वानबी भनिने उक्त भिसालाई अमेरिकी प्रविधि कम्पनीहरूले विदेशबाट दक्ष कर्मचारी भर्ना गर्न उपयोग गर्थे । त्यसको शुल्क विद्यमान एक हजार डलरबाट बढाएर एक लाख डलर पुर्याइने छ । हरेक वर्ष लोटरी प्रणालीबाट करिब ८५ हजार एच–वानबी भिसा प्रदान गरिन्थ्यो । पछिल्लो शुल्क वृद्धिले वाशिङ्टन र दिल्लीबीचको जारी व्यापार वार्ता थप तनावपूर्ण हुन सक्छ ।

आलोचकहरूले सो भिसा प्रणालीले स्वदेशी अमेरिकी कर्मचारीहरूलाई अप्ठ्यारो पारेको भन्ने गरेका छन् । तर सो प्रणालीका समर्थकहरू – जसमा राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलोन मस्क पनि छन् –ले चाहिँ यसले अमेरिकालाई विश्वभरिबाट उच्च कोटीका क्षमतायुक्त जनशक्ति प्राप्त हुने भन्ने गरेका छन् ।

अमेरिकाले एच–वानबी भिसाको सुरुवात १९९० बाट गरेको थियो। ट्रम्प प्रशासनले उसको नयाँ आप्रवासन नीति अन्तर्गत पछिल्लो कदम चालेको हो। अमेरिकी राष्ट्रपतिले गैर अमेरिकी मानिसहरूले अमेरिकी मानिसहरूको रोजगार खोसेको भनेर लगातार भन्दै आएका छन् ।

अमेरिकी सरकारका आँकडा बमोजिम पछिल्लो आर्थिक वर्षमा यस भिसा प्रणालीको सबभन्दा धेरै उपयोग अमेजन, टाटा, मेटा, एपल तथा गुगलजस्ता प्रविधि कम्पनीहरूले गरेका थिए । सन् २०२५ को पहिलो ६ महिनामा अमेजन डट कम र उसको क्लाउड कम्प्युटिङ इकाइ एडब्ल्युएसलाई १२ हजारभन्दा धेरै एच–वानबी भिसाको मन्जुरी मिलेको थियो भने माइक्रोसफ्ट र मेटालाई ५ हजारभन्दा धेरै मिलेको थियो ।

खासमा यो भिसा स्टेम भनिने विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितजस्ता क्षेत्रका प्रतिभाशाली कर्मचारीका निम्ति हो जसको विकल्प अमेरिकाभित्र अभाव छ । तर आलोचकहरूले यो प्रणालीमार्फत् विदेशका थोरै तलब स्वीकार्ने कर्मचारी आउन थालेको बताउँछन्। यसैकारण अमेरिकी कम्पनीहरूले बाह्य कर्मचारीलाई रोज्न थालेको र स्थानीय मानिसका निम्ति रोजगारीका अवसर घटेको उनीहरू बताउँछन् ।

ताजा आँकडाअनुसार यो भिसा पाउनेमा ७२ प्रतिशत भारतीय अनि १२ प्रतिशत चिनियाँ नागरिक थिए । राष्ट्रपति ट्रम्पले दस्तखत गरेको यो भिसाको शुल्क बढाउने कार्यकारी आदेशमा उक्त कार्यक्रमको दुरुपयोग भएको उल्लेख छ । योसँगै ट्रम्पले अर्को कार्यकारी आदेश पनि जारी गर्दै नयाँ ’गोल्ड कार्ड’को स्थापना गरेका छन् जसले १० लाख डलर शुल्क तिर्ने निश्चित आप्रवासीहरूको भिसा द्रुत गतिमा मिलाइदिन्छ।

यस्तो भिसा चाहने लगानीकर्ताहरूले दिने पैसामार्फत अमेरिकाको राष्ट्रिय कर्जाको चाँडो भुक्तानीमा सहयोग पुग्ने राष्ट्रपति ट्रम्पले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *