दोस्रो, तेस्रो पुस्ता माफी माग्दै, शीर्ष नेता अझै मौन !

काठमाडौं । जेनजी आन्दोलनका क्रममा दर्जनौंको मृत्यु र खर्बौंको भौतिक सम्पत्ति ध्वस्त भएपछि यतिबेला राजनीतिक दलका नेताहरुमा माफी माग्ने लहर चलेको छ । केपी ओली नेतृत्वको सरकारले सामाजिक संजाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजी पुस्ताले आन्दोलन घोषणा गरेको थियो । तर आफ्नो निर्णयबाट ओली सरकार टसमस नभएपछि भदौ २३ गते जेनजी आन्दोलनमा उत्रिए । आन्दोलनमा उत्रिएकामाथि सरकारले यस्तो दमन गर्यो कि नयाँबानेश्वर क्षेत्रमै १९ जनाको मृत्यु भयो । अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगिसकेको छ । त्यसपछि भड्केको आन्दोलनले भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी संरचना, व्यापारिक प्रतिष्ठान र नेताका घरमा तोडफोड, आगजनी र लुटपाट भए । जेनजीको आन्दोलनको बलमा ओली सरकार ढल्यो, नेताहरुलाई सेनाले ब्यारेकमा राखेर जोगायो, अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । यसरी जेनजी आन्दोलनका कारण राजनीति उलटपुलट भएपछि दलका नेताले माफी माग्न थालेका छन् ।

सुरुमा भदौ २७ गते नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको अनुहारमा दाग लागेको भन्दै जनतासँग माफी मागे । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय रोक्न नसकेकामा पश्चाताप गर्दै त्यो मात्रै रोक्न सकेको भए सम्भवतः आज यति ठूलो घटना नहुने बताए । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्न लागेको दिन आफू पार्टीका सभापति शेरबहादुर देउवाकहाँ पुगेर त्यसो नगर्न अनुरोध गरेको तर सफल हुन नसकेको महामन्त्री थापाले बताए ।

उनले भनेका छन्, ‘पहिला त म भाद्र २३ गते जुन १९ जना युवाको हत्या भयो। म त्यसको लागि म प्रत्यक्ष रूपमा इन्भल्भ छैन, तर पनि म माफी माग्छु। त्यो अपराध थियो। यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ। किनकि जुन दिन सोसल मिडिया ब्यान्ड गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिकहाँ गएको थिएँ। र, त्यो दिन बिहान भनेको थिएँ– युथहरू हामीसँग एकदमै नराम्ररी रिसाएको छ, जेन्युन कारण छ, यति धेरै आगो बलेको छ, आगोमा घाउ थप्ने काम नगर्नुस्, गर्दै नगर्नुस्। बैठकमा बोलेँ भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ। हामी सबै मिलेर दबाब सिर्जना गर्यौँ भएन। सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला। अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नुपथ्र्यो भन्ने लाग्छ। त्यो नगर, नगर भनियो, आखिर भयो।’

त्यसपछि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आत्मालोना गर्दै माफी मागे । नेताहरुले बदलिएको समयको पदचाप बुझ्न नसक्दा घटना भएको बताए । उनले भने, ‘भन्दै आएको थिएँ–सभापतिज्यू अब तपाईं प्रधानमन्त्री बन्नतिर लाग्नुहुन्न, तपाईंले त्याग गर्नुपर्छ । जोड दिएको थिएँ–देउवा, दहाल र ओली ३ जनाले नै छोड्नुपर्छ, अभिभावक बन्नुपर्छ । सिद्धान्त पेश गरेको थिएँ– ‘वान-टु -थ्री-फो‘ राष्ट्रपति एकपटक मात्र, प्रधानमन्त्री दुईपटक मात्र, मन्त्री तीन पटक मात्र …. ! बदलिएको समयको पदचाप बुझ्न नसक्नु/बुझाउन नसक्नु । अरुको होइन मेरै हो दोष । त्यसैले नयाँ शुरुवात गर्न जरुरी छ– आत्मसमीक्षा, आत्मालोचना र आत्मसंकल्प !’

कांग्रेसका दुई महामन्त्रीपछि नेकपा एमालेका सचिव योगेश भट्टराई फेसबुक लाइभमा आएर सुशासन र रूपान्तरणका कदममा जेनजी पुस्ताको माग सम्बोधन गर्न नसकेकोमा सार्वजनिक माफी मागे । उनले यसमा एमाले चुकेको स्वीकार गर्दै पार्टी, जनताको विश्वास र युवाको साथ फिर्ता ल्याउने प्रतिबद्धता जनाए । भट्टराईले भने, ‘भ्रष्टाचार देशको मुख्य बेथिति हो। सुशासनको पक्षमा राज्य संयन्त्र रूपान्तरण गर्नुपथ्र्यो, तर हामी चुकेका छौं। युवा र जनताको माग सम्बोधन गर्न सकेनौं। त्यसैले जनताको अगाडि माफी माग्छु। एमाले युवाले बनाएको पार्टी हो, युवाले नेतृत्वलाई निरन्तर दिएर हामीलाई अघि बढाउनुपर्छ।’

सचिव भट्टराईपछि बिहीबार राति एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि माफी मागेका छन् । विज्ञप्ति जारी गरी पौडेलले विगतमा एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना गल्ती, कमजोरी र भूलप्रति माफी मागेका हुन् ।

त्यस्तै नेकपा एमालेका नेता सुहाङ नेम्वाङले पनि माफी मागेका छन् । शुक्रबार विज्ञप्तिमार्फत नेम्वाङले आफू सक्रिय राजनीतिमा आएको दुई वर्ष भएको उल्लेख गर्दै अहिलेको अवस्था निर्माणमा आफ्नो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी माग्ने बताएका हुन् । उनले भनेका छन्, ‘मैले फर्केर हेरेँ म पनि सक्रिय राजनीतिमा आएको करिब एक दुर्ष वर्ष भएछ। अति आदरणीय इलामेली जनताको जनप्रतिनिधिको रूपमा प्रतिनिधिसभा सदस्यको रुपमा झन्डै डेढ वर्ष काम गर्ने अवसर प्राप्त गरेँ, त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला ? यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नि ? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु। गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो।’

घटनाको केही दिनपछि माओवादी अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरी घटना कांग्रेस एमालेको सरकारको रबैयाकै कारण भएको आरोप लगाए । तर उनले माफी मागेनन् । उनले भने, ‘हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं। आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ। यसका लागि जेनजी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ।’

पार्टीमा प्रचण्डलाई चुनौती दिने उपमहासचिव जनार्दन शर्माले अब पार्टी पुनर्गठनको माग गरे । उनले भने, ‘संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेका छन् । अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार ‘गम्भीर आत्म समीक्षा’ सहित पुनर्गठन र पुनरसंरचनाको महा–अभियान सुरु गरौं ।’

शिवपुरीस्थित सेनाको ब्यारेकबाट बिहीबार निस्केका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसमा अवसरमा शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरे । तर उनले पनि माफी मागेनन् । उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । बरु ओलीले आफूलाई काजी भीम मल्लसँग तुलाना गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।’

कांग्रेस सभापति देउवा दम्पती आन्दोलनकारीको आक्रमणबाट घाइते भएकाले अहिलेसम्म अस्पतालमा उपचाररत छन् । उनीहरुकातर्फबाट व्यक्तिगत रुपमा कुनै सन्देश आएको छैन । एमाले, कांग्रेस, माओवादीका दोस्रो तेस्रो पुस्ताले माफी माग्दै सच्चिने वाचा गरेका छन् । तर अहिले पनि पहिलो पुस्ताका नेताबाट गल्ती गरेको महसुस गरेको देखिँदैन । जुन कुरा उनीहरुको अभिव्यक्तिबाट स्पष्ट नै हुन्छ । पहिलो पुस्ता टसनमस भएको अवस्थामा घटनापछि माफी माग्ने दलका दोस्रो, तेस्रो पुस्ताले पार्टी पुनर्गठन गरी सच्चिएको सन्देश दिन सक्लान् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *