हामी अलि बढी नै आक्रामक, आवेगयुक्त र परपीडक त भएनौँ !

-नारायण गाउँले ।

युवा छन्, देशविदेशका प्रतिष्ठित विश्वविद्यालयबाट शिक्षा लिएकी छन् । बौद्धिक र सुन्दर पनि छन् । आज पहिलोपल्ट उनलाई यति लामो सुनेँ । नम्र र शालीन पनि रहिछन् । यस्तो शिक्षित, तार्किक र चेतनशील युवा त हरेक देशको सम्पत्ति हो ।
हामी अलि बढी नै आक्रामक, आवेगयुक्त र परपीडक त भएनौँ जस्तो पनि लाग्यो । यत्तिको सक्षम र बौद्धिक जनशक्ति विश्वको जुनसुकै कुनामा पनि सम्मानित नै हुन्छ । एक त राजनीति गर्नु नै अपराध भन्ने होइन । कसै न कसैले त गर्नुपर्यो । यिनको बुबाले गरे । दोस्रो राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मिनु पनि अपराध होइन । यिनले बनाएको छवि र व्यक्तित्व राजनीतिक पनि होइन । आफ्नै बलबुता र क्षमताले बनेकी पनि त हुन सक्छिन् ।

समाजमा प्रेरणा र उदाहरणका रूपमा प्रस्तुत गर्नुपर्ने र अन्य युवालाई समेत यस्तै आत्मविश्वास, सफलता र व्यक्तित्व निर्माणका लागि प्रोत्साहन गर्नुपर्नेमा उनलाई मुख्य खलपात्रका रूपमा प्रस्तुत गरिएको रहेछ । देशमा मिडियालाई पनि तारो बनाइएको छ । मिडिया हाउसका व्यक्तिसँगको वैवाहिक सम्बन्ध पनि तारो बनेको होला । अकारण व्यक्तिगत प्रतिष्ठा र भौतिक सम्पत्ति दुबै गुमाएर पनि यिनले जुन सुझबुझ, खुलापन र संयमतापूर्वक बोलेकी छन्, त्यो प्रसंशनीय छ ।

म व्यक्तिगत रूपमा चिन्दिनँ । आजसम्म राम्रो नराम्रो केही लेखेको पनि छैन । भिडियो नहेर्ने हुनाले धेरै घटना र प्रसङ्गसँग जानकार पनि छैन । तर आज अलिकति पढ्दै गर्दा, यो लगायत केही अभिव्यक्ति सुन्दै गर्दा र आफ्नो विवेकसँग साउती गर्दै गर्दा मलाई यत्तिको समझदार युवा पुस्ता भएको देश एकदिन पक्कै सुन्दर बन्छ भन्ने विश्वास जागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *