काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आफ्नै क्षमताबाट आफू यहाँसम्म आइपुगेको बताएकी छन् । बिहीबार सामाजिक संजालमार्फत खतिवडाले आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएको दुष्प्रचारको खण्डन गरेकी हुन् ।
उनले लाइक र भ्यूजको दौडमा मानवता गुमेको महसुस आफूलाई भएको बताइन् । उनले भनिन्, ‘तपाईंहरुले लगाएका आरोपहरु सबै अनुमानित मात्रै छन्, कुनै पनि प्रुफ छैन । एकपटक आफैंलाई प्रश्न गर्नुस् । के लाइक र भ्यूज नै सबैथोक हो ? तपाईंंहरु लाइक र भ्यूजको दौडमा मानवता गुमाइरहनुभएको छ ।’
उनले मिस नेपाल हुनुअघि आफूले साधारण जीवन बाँचेको बताइन् । उनले भनिन्, ‘म सधैं साधारण जीवन बाँचिरहेकी थिएँ, मिस नेपालपछि मात्रै संसार घुम्ने अवसर पाएँ ।’
उनले हावर्डको पढाइ आफ्नै आम्दानीबाट पूरा गरेको उल्लेख गर्दै भनिन्, ‘हार्वर्डमा मैले करिब ९६ लाख रुपैयाँ नेपालमै कमाएको पैसा भुक्तानी गरें ।’ आफूलाई ‘भ्रष्ट नेताकी छोरी’ भनेर हल्ला फैलाइएकामा आपत्ति जनाइन् । उनले भनिन्, ‘भविष्यमा मेरा छोराछोरीले आमा भ्रष्टाचारी थिइन् भन्ने सुन्नु नपरोस् भन्ने चाहन्छु।’