काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध उठेको मूलभूत जनविद्रोह भएको उल्लेख गर्दै त्यसको बलिदानलाई केवल सरकार निर्माणमा सीमित गर्ने काम गम्भीर भूल भएको ठहर गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मुलुकलाई दीर्घकालीन द्वन्द्वमा जान नदिनका लागि नविन समझदारी अत्यावश्यक रहेको निष्कर्ष निकालेको हो । भ्रष्टाचारको अन्त्यका लागि नेतृत्व मात्र नभई विद्यमान निर्वाचन प्रणाली, राज्य संरचना र संवैधानिक निकायमा हुने नियुक्ति प्रणालीमै सुधार आवश्यक रहेको बैठकको निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले भनेको छ, ‘राप्रपाले लामो समयदेखि वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उद्घोष गर्दै आएको परिप्रेक्षमा हालै भएको विद्रोहले त्यसलाई थप पुष्टि गरेको छ। असफल भएको संविधानबाटै कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो भन्ने हाम्रो स्पष्ट धारणा छ।’