काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुबाट पनि केही कमजोरी भएको स्वीकार गरेका छन् ।
बिहीबार भिडियो सन्देश जारी गरी प्रचण्डले कतै न कतैबाट आफूहरुबाट कमजोरी भएको र त्यसलाई सच्याउन लागिरहेको बताएका हुन् ।
उनले सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेको तर जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गरे । उनले नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको पनि बताए ।
प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्ने बताए । उनले भने, ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं ।’
उनले अन्तरिम सरकारलाई असफल बनाउन र चुनाव हुन नदिन योजनाबद्ध प्रयास हुनसक्ने भन्दै त्यसविरुद्ध सचेत रहन लोकतन्त्रवादी शक्तिलाई आह्वान गरे ।