काठमाडौं । चीनले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ । बिहीबार नेपालका लागि चीनका राजदूत छन् सोङले प्रधानमन्त्री कार्कीलाई भेटेर बधाई तथा समर्थन व्यक्त गरेका हुन् ।
भेटका क्रममा दुई पक्षबीच विचारविमर्श भएको र मित्रता तथा सहकार्यलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको चिनियाँ दूतावासले जनाएको छ ।
दूतावासले भनेको छ, ‘प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पाउँदा खुसी लाग्यो र हाम्रो तर्फबाट हार्दिक बधाई तथा समर्थन व्यक्त गर्दछौं । हामीले विचारहरू साटासाट गर्यौं र हाम्रो मित्रता तथा सहकार्यलाई अझ प्रवद्र्धन गर्नेमा सहमति जनायौं।’ यसअघि चिनियाँ विदेश मन्त्रालयले प्रधानमन्त्रीलाई बधाई दिएको थियो ।
कार्की प्रधानमन्त्री नियुक्त भएकोमा भारतीय राजदूत नविन श्रीवास्तवले भदौ ३१ गते भेटेर प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश हस्तान्तरण गरेका थिए । त्यसैगरी आज प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन संवादसमेत भएको थियो ।