काठमाडौं । नागरिक समाजका अगुवाहरूले अन्तरिम सरकारको मुख्य काम निर्वाचन भएकाले यो भन्दा दायाँबायाँ नलाग्नका लागि सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् ।
नागरिक अगुवाहरू महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ. कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई,कनकमणि दिक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त, सुशील प्याकुरेलले बिहीबार राष्ट्रपति पौडेललाई भेटेर उनीहरुले दलहरुसँग अनावश्यक प्रतिशोध नसाँध्न अनुरोध गरेका हुन् । उनीहले यस्तो गरिए अनावश्यक तनाव सिर्जना हुने बताएका छन् ।
उनीहरुले भनेका छन्, ‘लोकतन्त्रको आधारस्तम्भ आम नागरिक र राजनीतिक दलहरु भएकाले उनीहरुको भूमिकालाई न्यूनीकरण गर्ने, दलका विरुद्धमा प्रतिशोध साँध्ने र संवैधानिक सरचनाहरुलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने कार्य भएमा अर्को द्वन्द्व र तनाव सिर्जना भई अन्तरिम सरकार आफ्नो मूल दायित्वबाट च्यूत हुन सक्ने छ ।’
भेटमा राष्ट्रपति पौडेलले असाधारण परिस्थितिमा आफूले भूमिका खेलेको बताएका थिए । त्यस्तै उनले आफू अब संविधानभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरेका छन्।