काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।
बिहीबार बिहान पत्रकार सम्मेलन गरी पाण्डेले आफूहरूले आगजनी नियन्त्रणका लागि सक्दो प्रयास गरेको बताएका हुन् । उनले आगो लाग्नेबित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति नभएका कारण केही ढिला भएको बताए ।
उनले भने, ‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो । स्कर्टिङ गरेर समेत लैजाने अवस्था नरहेकाले हामी रोकिएा हौं । दमकल जान सक्ने अवस्थामा, दमकल सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ । हामीले विभिन्न व्यक्तिहरू अथवा विभिन्न कम्पनीहरूबाट बालाजु एरियाबाट, स्वयम्भू एरियाबाट आफ्नो व्यक्ति एप्रोचका आधारमा, महानगरको एप्रोचका आधारमा तत्काल पानी फिलिङ गर्ने काम गर्यौं ।’
उनले आन्दोलनका कारण सडकमा अवरोध हुँदा लैजान समस्या भएको बताए । उनले भने,‘सबैलाई थाहा नै छ नि । हामी अलर्ट थियौं । तर सडकमा आन्दोलन, आगजनी तोडफोड भइरहेकाले समस्या भएको हो ।’