शुक्लाफाँटामा वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

कञ्चनपुर । वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका-७ मा ५८ स्वचालित (सेन्सरयुक्त) बत्ती जडान गरिएका छन् । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जंगली जनावर नियन्त्रणमा सहयोग पुगेको छ ।

तराई भू-परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिन्छ ।

“यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ, मानवीय क्षति कम गर्न मद्दत पुगेको छ”, अध्यक्ष विष्टले भने । उनका अनुसार बस्ती क्षेत्रमा हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्राय: प्रवेश गर्ने गरेका छन् । बत्तीसँगै समितिले करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान गरेको छ । बत्ती र मेसवायर जडान भएपछि बालीनाली जोगाउन सहज भएको छ ।

शुक्लाफाँटा–७ का वडाध्यक्ष प्रतापसिंह धामीले स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रण गर्न सहयोग पुगेको बताउनुभयो । “हात्तीले मेसवायर तोडेर बस्तीमा छिर्ने गर्थ्यो, घर नजिक पुगेपछि मात्रै थाहा पाउँथ्यौँ, अहिले बत्तीको कारण टाढैबाट देख्न सकिने भएको छ”, उनले भने । समितिले चालू आर्थिक वर्षमा थप बत्ती जडान गर्न प्रस्ताव पेस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *