बीबीसी । जापानमा एकसय वर्ष वा त्योभन्दा बढी उमेरका मानिसहरू अहिले सर्वाधिक सङ्ख्यामा भएको सरकारले घोषणा गरेको छ । अहिले त्यहाँ १०० वर्ष पुगेका वृद्धवृद्धा एक लाखको हाराहारीमा छन् ।
शतायु व्यक्तिहरूको सङ्ख्यामा जापान ५५ वर्षदेखि निरन्तर अग्रस्थानमा छ। जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सेप्टेम्बर महिनासम्म त्यस्ता मानिसको सङ्ख्या ९९,७६३ थियो। तीमध्ये ८८ प्रतिशत महिला छन् ।
जापानका स्वास्थ्यमन्त्री ताकामारो फुकोकाले ८७,७८४ शतायु महिला र ११,९७९ शतायु पुरुषलाई दीर्घजीवन प्राप्त गरेकोमा बधाई दिँदै ‘समाजको विकासमा उनीहरूले लामो समयदेखि पुर्याएको योगदानका लागि कृतज्ञता’ व्यक्त गरे ।
जापानमा विश्वभरिकै लामो औसत आयु छ। केही अध्ययनहरूले विश्वभरि भएका शतायु व्यक्तिहरूको वास्तविक सङ्ख्याबारे भिन्न सङ्ख्या देखाएका छन्।
यद्यपि जापानलाई प्रायः सर्वाधिक उमेरका जीवित व्यक्तिको घर मानिन्छ । जापानलाई तीव्र गतिमा बुढ्यौलीतिर उन्मुख समाज पनि मानिन्छ। जापानीहरू आरोग्यवर्धक आहार गर्छन् तर त्यहाँ जन्मदर निकै न्यून छ । सबैभन्दा वृद्ध मानिएकी जापानी नागरिक अहिले ११४ वर्षकी भइन् ।
शिगेको कागावा नामक ती महिला नारा सहरको बाह्य भागमा बस्छिन्। सबैभन्दा वृद्ध पुरुष चाहिँ १११ वर्षीय कोयोताका मिजुनो हुन्। उनी तटीय सहर इवाताका बासिन्दा हुन् । वृद्धवृद्धासम्बन्धी तथ्याङ्क १५ सेप्टेम्बेरमा जापानमा मनाइने ज्येष्ठ नागरिक दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो। उक्त दिन जापानमा सार्वजनिक बिदा थियो ।