एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिख, लिभरपुल र पेरिस सेन्ट जर्मन(पीएसजी) विजयी भएका छन् । बुधबार राति भएको खेलमा बायर्नले चेल्सीलाई ३-१ गोलले पराजित गरेको हो ।
एल्लिनाज एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । चेल्सीको लागि कोल पाल्मेरले एक गोल फर्काए । २० औँ मिनेटमा चलोबाहले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बायर्नले खेलमा शूरुवाती अग्रता लिएको थियो । २७ औँ मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
दुई मिनेटपछि पाल्मेरले गोल गर्दै चेल्सीलाई २-१ गोलको स्थितिमा ल्याए । ६३ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बायर्न ३-१ गोलले विजयी भएको हो ।
गएरातिनै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले एथ्लेटिको म्याड्रिडलाई ३-२ गोलले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन एन्ड्रीउ रोबर्टसन, मोहम्मद सलाह र भर्जिल भान डाइकले समान एक/एक गोल गरे । एथ्लेटिकोको लागि मार्कोस लोरेन्टेले दुई गोल गरे ।
यस्तै गएरातिनै भएको अर्को खेलमा पीएसजीले एटलान्टालाई ४-० गोलले हराएको हो । पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीलाई जित दिलाउन मार्कुइन्होस, ख्विचा क्वारात्स्खेलिया, नुनो मेन्डेस र गोन्सालो रामोसले समान एक/एक गोल गरे ।
जितसँगै पीएसजी, लिभरपुल र बायर्नले समान एक/एक अंक जोडेका छन् ।