आबिदजान । मोटरसाइकलमा आएका बन्दुकधारीहरूले पश्चिमी नाइजरमा २२ गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिनेमध्ये धेरैजना बप्तिस्मा समारोहमा सहभागी रहेका थिए ।
घटना सोमबार तिलाबेरी क्षेत्रमा भएको हो । उक्त क्षेत्रमा अल–कायदा र इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित जिहादी समूहहरू सक्रिय छन् ।
टाकौबट गाउँमा आयोजित बप्तिस्मा समारोहमा १५ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दाले एएफपीलाई बताए । उनका अनुसार आक्रमणकारीहरूले त्यसपछि गाउँको बाहिरी क्षेत्रमा गएर थप सात जनाको हत्या गरेका थिए ।
स्थानीय सञ्चारमाध्यम एल्मेस्ट्रो टिभीले ‘कुनै कारण वा औचित्यबिना २२ निर्दोष मानिसको कायरतापूर्ण हत्या’ भएको उल्लेख गरेको छ ।
मानवअधिकार कार्यकर्ता माइकौल जोडीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि एकपटक तिलाबेरी बर्बरताले ग्रस्त भएको छ, निर्दोष परिवारहरू शोक र निराशामा डुबेका छन् ।’
सन् २०२३ मा सत्तापलटपछि सत्तामा आएका नाइजरका सैन्य नेताहरूले ठूलो सेनाको उपस्थिति कायम राखेका भए पनि तिलाबेरीमा जिहादी गतिविधि नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् ।
गत हप्तामात्रै यस क्षेत्रमा करिब २० सैनिक मारिएका थिए । ह्युमन राइट्स वाचले नाइजरका अधिकारीहरूलाई नागरिकलाई जोगाउन ‘अझ बढी गर्न’ आग्रह गरेको छ ।
अधिकार अनुगमन समूहका अनुसार मार्चदेखि इस्लामिक स्टेट समूहले पाँच आक्रमणमार्फत तिलाबेरीमा एक सय २७ भन्दा बढी गाउँले र मुस्लिम उपासकलाई ‘संक्षिप्त मृत्युदण्ड’ दिएको छ ।