सुर्खेत । ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा क्षति तथा आगजनी भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेशभर प्रदर्शनकारीले सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरूमा समेत आगजनी र तोडफोड गरेका छन् । प्रहरीले तथ्याङ्क सङ्कलन गरिरहेको छ । आन्दोलनमा पाँचवटा सङ्घीय कार्यालय, सात प्रादेशिक कार्यालय, १७ जिल्ला तथा स्थानीय कार्यालय, १२ पार्टी कार्यालय, आठ वटा व्यक्तिगत तथा निजी घर र तीन वटा अन्य सङ्घसंस्थाका कार्यालयमा आगजनी तथा तोडफोड गरी क्षति पुगेको जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै क्षति सुर्खेतमा भएको छ । सुुर्खेतमा २६ वटा सरकारी, निजी तथा पार्टी कार्यालयमा क्षति पुर्याएको छभने जुम्लामा छ वटा र मुगुमा दुईवटा भौतिक संरचनामा आगजनी तथा तोडफोड गरिएको छ ।
सुर्खेतमा कर्णाली प्रदेशसभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा भवनलगायतका सरकारी संरचनामा आगजनी र तोडफोड गरिएको छ । यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा कार्यालयमा पनि क्षति पुर्याइएको छ ।
यस्तै, मुख्य राजनीतिक दलका पार्टी कार्यालयसहित पार्टी नेताहरूका निजी घरमा समेत आगजनी भएको छ । यहाँ १९ वटा सरकारी गाडी र १९ वटा मोटरसाइकलमा आगजनी भएको प्रहरीको प्रारम्भिक तथ्याङ्क छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार घिमिरेले दुई वटा निजी गाडी र पाँच वटा निजी मोटरसाइकलमा समेत आगजनी भएको तथ्याङ्क प्राप्त गरिएको जानकारी दिनुभयो । प्रदर्शनकारीले एम्बुलेन्स, शववाहन र दमकलमा समेत तोडफोड गरेका छन् ।
अन्य जिल्लामा समेत क्षतिको विवरण सङ्कलन भइरहेकाले सबै विवरण प्राप्त पछि सार्वजनिक गरिने प्रवक्ता घिमिरेले बताए । आगजनी तथा तोडफोडमा संलग्न भएकाहरूको खोजी कार्य पनि सँगसँगै अगाडि बढेको उनले जानकारी दिए ।