जेनजी आन्दोलनका क्रममा वीरगंजमा एक अर्ब १५ करोडको क्षति

पर्सा । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र सवारीसाधन जलेर नष्ट हुँदा एक अर्ब १५ करोड मूल्य बराबरको क्षति भएको छ ।

महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै सङ्कलन भइरहेको छ । सबै क्षतिको विवरण सङ्कलन गर्दासम्म रु एक अर्ब ५० करोड बराबरको पुग्ने अनुमान छ । महानगरका अनुसार महानगर कार्यालयपरिसरभित्र तीन वटा भवन पूर्ण क्षति भएका छन्भने अन्य तीन भवनमा क्षति भएको छ । त्यस्तै १७ वटा चार पाङ्ग्रे र नौ वटा दुई पाङ्गे र दुई वटा रिक्सासमेत क्षति भएको छ ।

वीरगञ्ज महानगरको नगर परिषद्को आज बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको गरेको छ । बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

त्यसैगरी नगर परिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ । सो सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाइने तयारी भएको छ । आगलागीबाट कार्यालय कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका थिए । प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान सङ्कलन गरिरहेको जनाएको छ ।

बैठकले हालैको आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगर परिषद्ले गरेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए । नगर परिषद्को बैठकले हालको असामान्य परिस्थितिमा वीरगञ्जलाई फेरि सञ्चालन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *