काठमाडौं । जेनजी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको जनाएको छ ।
मंगलबार आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरुसँग सम्पर्कमा रही उनीहरुको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिएको जनाएको छ । साथै, आयोगले जेनजी प्रतिनिधिहरु, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरु तथा बालबालिकाहरुसँग निरन्तर भेटघाट गरिरहेको जनाएको छ ।
यसै सन्दर्भमा मंगलबार आयोगले प्रधानसेनापति अशोकराज सिग्देलाई आयोगमा बोलाएर भेट गरेको छ । भेटमा बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरुको अवस्था सम्बन्धमा छलफल भएको छ ।
छलफलका क्रममा देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको छ ।