जेरुसेलम, । एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दाहरूलाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ । यो घोषणा सेनाका प्रवक्ता अविचे अद्राईले गरेको हो । यसअघि रक्षामन्त्री इजरायल काट्जले ‘गाजा जलिरहेको छ’ भनेको थियो ।
अपरेसनले इजरायल–हमास युद्धलाई थप तीव्र बनाएको छ र हप्तौँको कूटनीतिपछि पनि युद्धविराम सम्भावना अझ टाढिएको छ ।
– बन्धक परिवारको विरोध –
गाजामा अझै बन्धक रहेका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास अगाडि भेला भई अपरेसन रोक्न माग गरेका छन् । कतिपयले पाल हालेर घरबाहिर रातभरै विरोध प्रदर्शन गरे । “मेरो एउटै चासो छ–मेरो छोरा मतानलाई बाँकी ४७ बन्धकसँग फर्काइयोस् र हाम्रा सैनिकहरू सुरक्षित घर फर्कून्”, आमा इनाभ जाङ्गाउकरले चिच्याउँदै भने ।
इजरायलको विश्वास अनुसार ४८ बन्धकमध्ये करिब २० जना जीवित छन् । तर हमासले स्थायी युद्धविराम, प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली फिर्तीसँग मात्र सम्झौता गर्ने अडान लिएको छ ।
गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा सुरु भएको हो । उक्त दिन हमास नेतृत्वको आक्रमणमा करिब एक हजार दुई सय इजरायली मारिए र दुई सय ५१ जना अपहृत भए । कतिपय बन्धकहरू कतार वा अन्य सम्झौतामार्फत आंशिक युद्धविराममा मुक्त भएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनी मारिएका छन् । मृतकमध्ये महिला र बालबालिका लगभग आधा रहेको बताइएको छ ।
– इजिप्टको कडा चेतावनी –
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सोमबार कतार शिखर सम्मेलनमा इजरायललाई पहिलो पटक ‘शत्रु’ भन्दै सम्बोधन गरे । सन् १९७९ को शान्ति सम्झौता पछि पहिलोपटक इजिप्टका नेताबाट यस्तो टिप्पणी आएको हो ।
इजिप्ट सरकारका सूचना प्रमुख दिया रस्वानले ‘इजिप्ट खतरामा परेको छ’ भन्दै इजरायलप्रति असन्तुष्टि व्यक्त गरे ।
– अमेरिकी चिन्ता –
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल भ्रमण सकेर कतार पुगेका छन् । गाजा अपरेसनलाई सङ्केत गर्दै उनले भने, “हामीसँग सम्झौताका लागि अब महिनौँ होइन, दिन वा हप्तामात्र बाँकी छ।”
रुबियोले युद्ध दीर्घकालीन बन्न नहुने भन्दै ‘हमासलाई अव्यवस्थित पार्न वार्तामार्फत समाधान होस्’ भन्ने अपेक्षा व्यक्त गरे ।
– अपरेसन र क्षति –
इजरायली सेनाले हप्तौँदेखि दिएको चेतावनीपछि काट्जले अपरेसन सुरु भएको पुष्टि गरे । “आतङ्कवादी पूर्वाधारमा फलामको मुठ्ठीले प्रहार भइरहेको छ । हामी मिशन पूरा नभएसम्म न त हार मान्छौँ न फर्किन्छौँ”, उनले भने ।
संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिनामा मात्र दुई लाख २० हजारभन्दा बढी प्यालेस्टिनी गाजाको उत्तरी भागबाट विस्थापित भएका छन् । अपरेसन अघि त्यहाँ करिब १० लाख बासिन्दा बसोबास गरेका थिए ।
मङ्गलबार बिहान गाजामा तीव्र आक्रमण भइरहेका समाचार आएका छन् । सहरको शिफा अस्पतालले कम्तीमा २० शव र ९० घाइतेको विवरण दिएको छ । “गाजामा निकै कठिन रात बित्यो, बम विस्फोट क्षणभर पनि रोकिएन”, अस्पताल निर्देशक डा मोहम्मद अबु सेलमियाहले भने ।
इजरायली सेनाले आक्रमणबारे प्रत्यक्ष टिप्पणी नगरे पनि विगतमा हमासले नागरिक क्षेत्रमा पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।