जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको र आत्मनिर्भर बन्न आवश्यक रहेको बताएका छन् ।
जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भने, “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।”
“हामी अनुसन्धान र विकासमा मात्र होइन तर वास्तविक उत्पादनमा पनि आफैंलाई यस्तो अवस्थामा फेला पार्नेछौँ,” उनले भने ।
उनले भने, “इजरायलले मुख्यतया हतियार उद्योगलाई ध्यानमा राख्दै नयाँ अलगावलाई अनुकूलन गर्न र आफ्नै उत्पादन क्षमताहरू विकास गर्न आवश्यक छ। हामी यस्तो अवस्थामा पुग्न सक्छौं जहाँ हाम्रा उत्पादनहरू निर्यातका लागि बन्द हुनेछन्।”
उनले भने, “हामीले यहाँ हतियार उद्योग विकास गर्नुपर्नेछ । हामी एथेन्स र सुपर–स्पार्टा हुनु पर्छ।”
“इजरायलको अन्तर्राष्ट्रिय अवस्था परिवर्तन हुँदैछ”, उनले चेतावनीको स्वरमा भने, “यसले हामीलाई आर्थिक प्रतिबन्धको सुरुवात र हतियार र हतियारका पार्टपुर्जाहरू आयात गर्ने समस्या निम्त्याउनेछ।”
विपक्षी नेता याइर लापिडले नेतान्याहूको टिप्पणीलाई ‘एक अर्थहीन टिप्पणि’ को रूपमा निन्दा गरे । उनले भने,“अलगाव ‘नेतान्याहू र उनको सरकारको असफल र त्रुटिपूर्ण नीतिहरूको’ परिणाम हो।”
स्पेनले इजरायलको सबैभन्दा ठूलो निजी स्वामित्वको रक्षा कम्पनी एल्बिट सिस्टम्सबाट रकेट लन्चर खरिद गर्न करिब ७० करोड युरोको सम्झौता रद्द गरेको छ । गाजा युद्धका बीच स्पेनले यसै महिना रद्द गरेको यो दोस्रो इजरायली हतियार सम्झौता हो ।
गाजामा इजरायलको आक्रमणले ६४ हजार भन्दा बढी व्यक्तिको ज्यान लिएको छ भने प्यालेष्टिनी भूभागलाई तहसनहस पारेको छ । त्यहाँ भोकमरी निम्त्याएको छ।
गाजा द्वन्द्वको समयमा अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्भावित उल्लङ्घनको चिन्तालाई उदृत गर्दै धेरै राष्ट्रहरूले सन् २०२३ अक्टोबरदेखि इजरायलसँग हतियार व्यापार घटाएका छन् वा स्थगित गरेका छन्।