काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारबाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउन सुझाव दिएका छन् ।
सामाजिक संजालमार्फत प्रधानमन्त्री कार्कीलाई पत्र लेख्दै यस्तो सुझाव दिएका हुन् । उनले प्रधानमन्त्रीलाई लोकरिझ्याईका अन्य छिटफुट काममा नभई घोषित मितिमै निर्वाचन गर्नेतर्फ लाग्नमसेत सुझाव दिएका छन् ।
यस्तो छ नारायणकाजीको पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू ,
तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोनमार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ । तपाईंको फोन सम्पर्क हुन सकेन । तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरूमार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहन्छु ।
एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।
दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।
तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरुमाथी कारबाही गर्नुस् ।
चार, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।
पाँच, भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाही हरुलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।
छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।
सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं लोकरिझ्याईंका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ । अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौं ।