‘आन्दोलनमा विनाशको खेती गर्नेलाई पानीमुनि गएपनि नछोड्नुस्’

-नारायण गाउँले ।

प्रिय जेन–जी, एउटा देशको अस्तित्व र सार्वभौमिकतामाथि कुनै दोस्रो देशले सर्जिकल आक्रमण गर्यो भने आर्मीबाहेक कहाँबाट सुरु गर्ला ? –उसले सबैभन्दा पहिले राष्ट्रपति निवासमा आक्रमण गर्छ । राजा या राष्ट्रपति देशको शिर हो ।

–प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालय उडाउँछ । कार्यकारीरूपमा देश भनेको त्यही हो !

–संसद भवन ! देशको सर्वभौमसत्ता जनतामा हुन्छ र त्यसको जिम्मा सांसदमा हुन्छ ।

–सर्वोच्च अदालत ! सानो देश भए पनि अदालतले गर्ने निर्णयलाई विश्वभर सम्मान गरिन्छ । न्यायपालिकाबिना देशको अस्तित्व हुँदैन ।

–राष्ट्रब्याङ्क ! देशको अलग अस्तित्व मुद्राले पनि देखाउँछ ।

–राष्ट्रिय तथ्याङ्क विभाग र सर्भर ! यो कुनै पनि देशको आत्मा हो । देशको अति गोप्य र महत्त्वपूर्ण तथ्याङ्क र सूचना यहीँ हुन्छ ।

–देशका ऐतिहासिक स्मारक, चिनारी र सम्पदा । जसले देशको अलग अस्तित्व र ऐतिहासिकता पुष्टि गर्छन् ।

–देशभरका प्रसाशनिक निकाय । जहाँ महत्त्वपूर्ण नागरिक विवरण र प्रमाण हुन्छ !

–विज्ञान–प्रविधि मन्त्रालय, अनुसन्धान संस्थान, विद्युत् र सञ्चारगृह । एउटा देश सग्लो उभिन यी नभई नहुने कुरा हुन् ।

–देशका सबैभन्दा ठूला उद्योग, करदाता, रोजगारदाता र व्यवसाय । कुनै देशको आर्थिक मेरुदण्ड नभाँची त्यसलाई कब्जा गर्न मुश्किल हुन्छ ।

–र, त्यस देशको सबैभन्दा ठूलो धार्मिक धरोहर ! जसले देशको भावनात्मक एकता र बल देखाउँछ ।

यति सबै ध्वस्त गर्न एउटा देश लाई खर्बौं रुपैयाँ बराबरको इन्टेलिजेन्स, ठूलो हवाई शक्ति, शक्तिशाली बमहरू, युद्धविमान, मिसाइल, रकेट र गोलाबारूद चाहिन्छ । सोच्नुस् त, तपाईंहरूको आन्दोलनको नाममा यी सबै काम एकै दिनमा भए । राष्ट्रपति कार्यालयदेखि सिंहदरबार, न्यायालयदेखि तथ्याङ्क विभाग र भाटभटेनीदेखि संसद भवनसम्म सबै एकै क्षणमा ध्वस्त भयो ।
आन्दोलनको उपलब्धिको सर्वत्र प्रशंसा भएकै छ । कहिल्यै फेरिन्न कि जस्तो राजनीतिको अनुहार एकाएक फेरिएको छ । यो कलिलो पुस्ताका धेरै जना शहीद भएका छन् । राजनीतिमा आशाको सञ्चार भएको छ ।

तर तपाईंहरूको घोषित उद्देश्य विपरीत तपाईंकै नाम प्रयोग गरेर देशको अस्तित्व नै मेटिनेसम्मको जुन स्ट्राइक भयो, त्यसलाई छानबिन गर्ने र घूसपैठ गर्ने ती अराष्ट्रिय तत्त्वलाई हदैसम्मको कारवाही नगर्ने हो भने एउटा कानुनी राज्यका रूपमा देशको छवि माथि उठ्ने छैन । बाह्य लगानी त के, देशकै उद्यमीले दुई पल्ट सोच्नुपर्ने अवस्था बन्नेछ र देशलाई असफल राष्ट्र बनाउन खोज्नेले जित्नेछन् । जजसले आन्दोलनको खोलमा आगो र विनाशको खेती गरेका छन्, तिनलाई पानीमुनि गए पनि नछोड्नुस् ।
तपाईंको आन्दोलन र जिम्मेवारी सकिएको छैन । शुरू भएको छ । तपाईंको पुस्ता अबको बीस–तीस वर्ष रहने पुस्ता हो । तपाईंको अनुहार हेरेर अबको तीस वर्षको नेपालको कल्पना गरिने हो । ‘ल एन्ड अर्डर’ कुनै पनि देशको पहिलो पिल्लर हो । अझ तपाईंको मुख्य मुद्दा त भ्रष्टाचार निर्मूल गर्ने हो । त्यो त बाँकी नै छ । प्रधानमन्त्री सकारात्मक देखिनुहुन्छ । अब उहाँ र राज्यका न्यायिक निकायलाई बल दिऊँ, सहयोग दिउँ र एउटा सफल राष्ट्रका रूपमा उठ्ने प्रण गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *