अष्ट्रेलियाले आणविक पनडुब्बी पूर्वाधार विस्तारमा ८ अर्ब डलर लगानी गर्ने

सिड्नी । अष्ट्रेलियाले आफ्नो भावी आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बीको निर्माण र मर्मत सम्भारका लागि पश्चिमी अष्ट्रेलियाको पर्थमा रहेको जलयान निर्माणस्थलमा प्रारम्भिक रूपमा १२ अर्ब अष्ट्रेलियन डलर (झण्डै ८ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ ।

यो लगानी आगामी दश वर्षभित्र गरिनेछ, जसअन्तर्गत पर्थस्थित ‘हेंडरसन सुरक्षा’ क्षेत्रलाई एक अत्याधुनिक जलयान निर्माण तथा मर्मत केन्द्रमा रूपान्तरण गरिने अष्ट्रेलियाका रक्षा मन्त्री रिचार्ड मार्लेसले जानकारी दिए ।

उक्त परियोजना सन् २०२१ मा बेलायत र संयुक्त राज्य अमेरिकासँग गरिएको त्रिपक्षीय सुरक्षा समझदारी ‘एयुक्यूएस’ अन्तर्गत अघि बढाइएको हो, जसको उद्देश्य अष्ट्रेलियाली नौसेनालाई आणविक पनडुब्बीबाट सुसज्जित गर्नु हो ।

रक्षा मन्त्री मार्लेसले भने,“हेंडरसन एक महत्वपूर्ण एयुक्यूएस परियोजना हो । यहीँबाट हामीले भविष्यका पनडुब्बीहरूको मर्मत र सञ्चालनको काम गर्नेछौँ ।”

उनले भने,“यो निर्णय अष्ट्रेलियाको वर्तमान सुरक्षा परिस्थिति तथा भविष्यमा आवश्यक पर्ने सुरक्षा संरचनाको मूल्याङ्कनका आधारमा गरिएको हो ।”

आणविक पनडुब्बी मर्मतका लागि पूर्वाधार तयार

हाल अष्ट्रेलियासँग आणविक पनडुब्बीको मर्मत सम्भार गर्न आवश्यक पूर्वाधार उपलब्ध छैन । त्यसैले सरकारले आगामी १५ वर्षभित्र तीनवटा भर्जिनिया–श्रेणीका पनडुब्बीहरू अमेरिका बाट ल्याउने लक्ष्य राखेको र भविष्यमा आफ्नै देशमा उत्पादन गर्ने योजना समेत बनाएको छ ।

संयुक्त राज्य अमेरिका आफैले पनि भविष्यमा आफ्ना आणविक पनडुब्बीहरूको मर्मत हेंडरसनमै गर्ने सम्भावना रहेको जनाइएको छ ।कुल लागत अष्ट्रेलियाली डलर २५ अर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

रक्षा क्षेत्रमा लगातार बढ्दो लगानी

यो जलयान निर्माणस्थल विस्तार योजना अष्ट्रेलियाले हालै अघि सारेका विभिन्न रक्षा प्रविधि सुदृढीकरण कार्यक्रमहरूमध्ये एक हो ।

गत महिना, अष्ट्रेलियाले जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजबाट ११ वटा मोगामी–श्रेणीका युद्धपोत खरिद गर्ने घोषणा गरिसकेको छ । सो योजनाको लागत आगामी दस वर्षमा करिब १० अर्ब अष्ट्रेलियाली डलर रहनेछ । पहिलो तीन युद्धपोत जापानमै बनाइने भए तापनि बाँकी अष्ट्रेलियामै उत्पादन गर्ने योजना बनाइएको छ ।

त्यस्तै, अघिल्लो साता अष्ट्रेलियाले ‘गोष्ट शार्क’ नामक पानीमुनि सञ्चालन हुने आक्रमण यन्त्रको निर्माणमा १.७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो, जसको पहिलो एकाइ सन् २०२६ को सुरूवातमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

आणविक सम्झौताको भविष्यमा आशावादी सरकार

केही विश्लेषकहरूले अमेरिकी नौसेनाले अष्ट्रेलियाका लागि आवश्यक पनडुब्बीहरू समयमै आपूर्ति गर्न सक्दैन भन्ने शङ्का व्यक्त गरेका छन् ।

तर, अष्ट्रेलियाको सरकार यस सम्झौताप्रति आशावादी देखिएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुई हप्ताअघि रक्षा मन्त्री मार्लेसलाई व्यक्तिगत रूपमा सम्झौता अगाडि बढ्ने आश्वासन दिएको वासिङ्टन पोस्टले जनाएको छ ।

अष्ट्रेलियाली सरकारले सन् २०२२ को मे महिनादेखि हालसम्म कूल ७० अर्ब अष्ट्रेलियाली डलर बराबरको थप रक्षा लगानी प्रतिबद्धता जनाइसकेको छ, जसमा यो जलयान निर्माणस्थल विस्तार योजना पनि समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *