-नारायण गाउँले ।
देश बचाउने हो भने यतिबेला सबै पक्ष हदैसम्म संवेदनशील बन्न जरूरी छ । यो अभूतपूर्व राजनीतिक परिवर्तनसँगै देशभर जुन स्तरको क्षति भएको छ, जुन आगो सल्केको छ, त्यसलाई कसैले राजनीतिक स्वार्थका लागि प्रतिशोधको हावा दिने हो भने बाँकी बचेको पनि खरानी हुन सक्ने डर छ । सांसददेखि वडासदस्यसम्मका हजारौँ घरमात्रै होइन, देशभरका विजनेश, व्यवसाय र रोजगारी पनि जलेका छन् । सार्वजनिक सम्पत्ति त ध्वस्त नै छ । कतिको त राजनीतिमा लागेकै भरमा सर्वश्व जलेको छ । आन्दोलनकारीले जिम्मा नलिएको यो विध्वंशले समाजमा ठूलो प्रति–विध्वंश निम्त्याउने डर हुन्छ । जसले कसैलाई फाइदा गर्दैन ।
राजनीतिक दलहरूको भूमिका र भविष्यसँग देशको भविष्य पनि जोडिएको छ । बिर्सिन नहुने के छ भने देशमा अझै पनि पार्टीहरूका चालीस लाख जति कार्यकर्ता छन् । आक्रोश, प्रतिशोध र घृणाको अलिकति पनि आगो सल्कियो भने यो निभ्न लामो समय लाग्नेछ र यसमा दलदेखि देशसम्म सबै जल्नेछन् ।
अबको सरकार, नागरिक समाज, दल र नागरिक सबैले ठूलो धैर्य, विवेक र दूरदृष्टि राख्नु जरूरी छ । तिनको भाषा र टोन आक्रामक होइन, समीक्षात्मक र निर्माणात्मक हुन जरूरी छ । जुन स्थितिमा देश आइपुगेको छ, सुशीला कार्कीको सरकार असफल हुँदा कसैले पनि जित्ने स्थिति छैन । देशमा सामान्य अवस्था छैन ।
गगन थापा एउटा पार्टीका नेता हुन् । उनले पहिलोपल्ट राजनीतिक दलको असफलता र दमनप्रति स्पष्ट शब्दमा माफी माग्दै हिजो राजनैतिक चरित्र देखाएका थिए । खरानीमा उभिएर दोष जति अरूको टाउकोमा देखाउँदै मान्छे उकास्ने या उराल्ने बाटो छोडेर नम्रतापूर्वक मेलमिलाप र पुनर्निर्माणको जुन ’टोन’ सेट गरेका छन्, यो प्रसंशनीय छ । घनश्याम भूसालबाहेक अन्य दलका नेताले यति स्पष्ट शब्दमा ’सरी’ भनेको सुन्न पाइएन । कति नेता त आक्रोश र आवेगको भाषा बोल्दै छन् ।
‘जनतामा, युवापुस्तामा ठूलो आवेग र आक्रोश छ, हामी नसुध्रिए देश ध्वस्त हुन्छ’ भन्ने उनले चुनाचुनाव अघिदेखि नै स्पष्ट शब्दमा भन्दै आएका थिए । शेरबहादुर देउवाविरुद्ध राजनीतिक भविष्य नै दाउमा राखेर उम्मेदवारी दिएका थिए । कांग्रेसभित्रका कीर्नाहरूले देउवालाई नजिताएको भए देशमा यो स्थिति शायद आउँदैनथ्यो । संसदभित्रै तीनै जना शीर्ष नेताले विश्राम नदिए यो स्थिति आउने भविष्यवाणी गर्ने उनी एक्ला नेता थिए । युवा बीच विकास हुँदै गरेको चरम निराशा पढ्ने र बुझ्ने उनी एक्लो जस्तै थिए । देउवा, प्रचण्ड र ओली सबैको आँखामा उनी कसिङ्गर थिए । सहकारी प्रकरणमा छानबिनको माग गरेपछि रास्वपाको आँखामा पनि उनी सबैभन्दा ठूलो शत्रु थिए । देवरबाबु भनेर उनको ब्रान्डिङ्ग गर्नेहरूले के बुझेनन् भने पार्टीमा शक्तिशाली देउवाविरुद्ध बोल्नेमात्रै होइन, उम्मेद्वारी नै दिने उनी एक्लो जस्तो थिए । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले पनि त्यो हिम्मत गरेनन् । विद्रोहकै कारण जम्मा एकपल्ट मात्रै मन्त्री भएका उनले गरेको कामको त रवि लामिछाने, सन्दूक रुइत, स्वर्णिम वाग्लेदेखि बाबुराम भट्टराईसम्मले खुलेरै प्रसंशा गरेका हुन् ।
अबको राजनीतिमा उनी कति सान्दर्भिक छन् छैनन्, त्यो विवादकै विषय होला । उनीभन्दा योग्य र ऊर्जावान् हरूले टेकओभर गर्ने स्थिति आयो भने त्यो सबैका लागि राम्रै कुरा हो । तर यो स्थितिलाई थप प्रतिशोधपूर्ण बन्न नदिई देशलाई यो कठीन सङ्क्रमणबाट बाहिर ल्याउन उनको, दलहरूको, सरकारको, नागरिकको र सबै सबै पक्षको जिम्मेबारीपूर्ण कदम एकदम जरूरी छ । देश रहे, राजनीति रहन्छ, पार्टी रहन्छ, हामी रहन्छौँ ।