अब एमाले हिजोको जस्तो रहँदैनः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमाले हिजोजस्तो नरहने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत सचिव भट्टराईले अब पार्टी पुनर्गठन हुने बताएका हुन् । उनले विगतका कमजोरीको आत्मालोचना गर्दै जनताका अघि माफी माग्ने बताए ।

उनले भने, ‘पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्नेछ । त्यो पुनर्गठन गर्छाैं । अब एमाले हिजोजस्तो रहँदैन, नयाँ हुन्छ । हाम्रो पार्टीमा पुरानो पुस्ता छ । बीचको पुस्ता छ । युवा पुस्ता छ । हाम्रो पार्टीमा जेनजी पुस्ता किन आइरहेको छैन । उनीहरूको र हाम्रो पार्टीका कडी किन टुटिरहेको छ । यसको गम्भीर समीक्षा गर्नेछौँ । हाम्रो पार्टीको नीति,नेतृत्व आगामी दिनमा युवा मैत्री बनाउने छौँ ।’

उनले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् । उनले संसद विघटन संक्रमण अन्त्यको सही बाटो नभएको बताएका छन् ।

उनले भने, ‘जेनजीहरूका मागलाई संवैधानिक प्रक्रियाबाटै संसद्बाटै पूरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ, उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो । तर, त्यता जान खोजिएन । संसदलाई विघटन गरिएको छ । यो सही निकास होइन ।’ उनले सबै नेताको सम्पत्तिको न्यायिक छानबिन गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *