प्रधानमन्त्रीको कार्यकाल निश्चित गर्न नसक्नु नै कमजोरी भयोः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दुई कार्यकाल भन्दा हुन नपाउने व्यवस्था गर्न नसक्नु नै ठूलो कमजोरी भएको बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी महामन्त्री शर्माले नेताहरुको पटक पटकको प्रधानमन्त्री बन्ने इच्छाले अहिलेको दुर्घटना निम्तिएको बताएका हुन् ।

उनले आफूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री लगायतको पदावधि कतिपटकका लागि हुने निश्चित गरेर सुधार गर्न सकिने प्रस्ताव महासमिति बैठकमा अघि सारेपनि त्यसलाई निर्णय गर्न नसकेको बताए ।

उनले भने,’ मैले बैठकमा बडा नम्रतापूर्वक भनेँ कि आदरणीय सभापतिज्यू, तपाईँको सबैभन्दा ठूलो शुभचिन्तक त म नै मात्रै रहेछु, विश्वप्रकाश मात्रै रहेछ। जसले तपाईँलाई प्रष्ट सँग भन्छ कि पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, छैटौँ पटक बन्नुहुन्न। तपाईँले अमुक फलाना फलाना फलाना नेताहरु मध्येबाट तपाईँले प्रस्ताव गर्नुहोस्। तपाईँले मैले छोड्ने बेला आउँदैछ भनेर चितवनमा बोल्दै गर्दा त्यत्रो प्रशंसा भयो। तपाईँले मैले छोडेँ भनेर घोषणा गर्दै गर्दा तपाईँको व्यक्तित्व अर्कै ठाउँमा पुग्छ। देशले अभिभावक पाएको हुन्छ । कांग्रेसको सभापति शेरबहादुर देउवाले त्यसरी गरिदिँदै गर्दा स्वाभाविक छ कि माओवादीको अध्यक्ष र एमालेको अध्यक्षलाई पनि दबाव पर्छ। तीन संन्यास, तीन अभिभावक बन्ने अवस्था बन्छ, मैले यो आग्रह पनि गरेँ। अब म त्यसमा फर्किन चाहन्नँ। मैले त्यो बेला बोलेँ तर त्यसलाई पार्टीको सम्पत्ति बनाउन सकिनँ। मलाई दुःख लाग्छ कि अहिले साथीहरु भन्नुहुन्छ कि ओहो, विश्वप्रकाश त्यसबेला भनेको थियो। त्यो त्यही हिसाबले पो जानुपर्ने रहेछ। हामीले ढिलो बुझ्यौँ।’

महामन्त्री शर्माले दोस्रो दिनको प्रदर्शनमा जेनजीको नाममा अन्य शक्तिले घुसपैठ गरेको आशंका गरेका छन् । उनले भने, ‘जेनजीको नाममा अरु दलका मानिस, अवाञ्छित तत्वहरु पनि घुसे ती सबैको बारेमा पनि नयाँ सरकारले छानबिन गरेर कारबाही गरिनुपर्दछ ।’ २३ र २४ भदौको घटना र भ्रष्टचारको छानविनका लागि आयोग बन्नुपर्ने शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *