काठमाडौं । नेपाली कांग्रेस संसद विघटनको विपक्षमा उभिएको छ । शुक्रबार राति बसेको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठकले संसद विघटनको विपक्षमा उभिने निर्णय गरेको हो ।
बैठकले संसद विघटनको यो उपक्रम नेपालको संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको निष्कर्ष निकालेको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरित छ, संविधान सम्मत विल्कुल छैन ।’
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र अर्कातर्फ जेन–जी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन भन्ने आशङ्का उत्पन्न गरेको जनाएका छन् ।