काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूले भनेबमोजिम नभए पनि प्रधानमन्त्री नियुक्ति र संसद विघटन दोस्रो राम्रो विकल्प भएको बताएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले हामीले भनेबमोजिम उत्तम नभए पनि दोस्रो राम्रो विकल्प यही भएको बताएका हुन् । उनले भने, ‘हामीले भनेबमोजिम उत्तम नभए पनि दोस्रो राम्रो विकल्प यही हो। जेनजी विद्रोहपछिको नयाँ परिस्थितिमा आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद बैठकबाट संविधानमा संशोधनसहित नयाँ प्रधानमन्त्रीको नियुक्ति र नयाँ प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेर नयाँ निर्वाचनमा जान पाएको भए उत्तम हुन्थ्यो। त्यो आन्दोलनकारीहरूले नमानेपछि र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना भएपछि दोसो राम्रो विकल्प यही हो ।’
यो नेपाली इतिहासको अर्को महत्त्वपूर्ण मोड भएको उल्लेख गर्दै अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैले यसलाइ ठिकसँग ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक बृहत् ध्रुवीकरणमा लाग्न उनले अपीलसमेत गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन् ।