काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको व्यापक क्षतिपछि सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।
आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको शुक्रबार अवलोकन पश्चात पत्रकारहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा भएको जनधन तथा भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्त अपूरणीय’ भन्दै त्यसको प्रारम्भिक मूल्यांकन सुरु गरिएको जानकारी दिए । उनका अनुसार, सिंहदरबारभित्र मात्र नभई बाहिरका धेरै सरकारी निकायहरूमा समेत गम्भीर क्षति पुगेको छ ।
उनले अब नागरिकलाई सेवा प्रवाह निरन्तरता दिनका लागि पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेसन, कर संकलनलगायतका सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाइसकिएको जानकारी दिए ।
त्यस्तै खानेपानी, बिजुली, टेलिफोन जस्ता आधारभूत सेवाहरू अवरुद्ध नहोस् भन्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको र आपूर्ति सहज बनाउन समेत पहल भइरहेको उनले बताए ।
सम्बन्धित मन्त्रालयका सचिवहरूसँग भर्चुअल बैठक गरी तत्कालीन सेवा सञ्चालन तथा समन्वयको व्यवस्था मिलाइएको छ । सुरक्षाको जिम्मेवारी नेपाली सेनाको नेतृत्वमा भइरहेका कारण सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी दिँदै उनले भने,‘युवा पुस्ताले उठाएका मागहरू सम्बोधन हुनेगरी चाँडोभन्दा चाँडो सरकार गठन होस् भन्ने हाम्रो चाहना हो ।’
सरकार गठन भएपछि मन्त्रालयहरूबाट सेवाप्रवाहलाई निरन्तरता दिने कार्ययोजना बनाइरहेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रको क्षति मूल्यांकनपछि क्षति नभएका निकायहरूबाट सेवा सञ्चालन सुरु गरिने बताए ।
यस क्रममा सवारी साधन र भवनसमेतमा भएको क्षतिको प्राविधिक मूल्यांकन गरेर कुन सामग्री मर्मतयोग्य छन् भन्ने पहिचान गरिने जनाइएको छ । उनले अभिलेख र रेकर्डसम्बन्धी क्षति नेपालकै लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै, यथार्थ तथ्यांक संकलनका लागि अझ केही समय लाग्ने पनि जानकारी दिए ।