संक्रमणकालमा प्रशासनयन्त्रले आफ्नो खुबी देखाउन सक्नुपर्छ

-शारदाप्रसाद त्रिताल ।

देश अहिले विषम परिस्थितिमा छ । सर्बसाधारण नागरिक लगायत सबै क्षेत्रमा असुरक्षा र अन्योलको अवस्था छ । विभिन्न अपराधिक तत्वहरुले यस विषम परिस्थितिमा नाजायज फाइदा लिन अनेक अराजक हर्कत अपनाउँछन् भन्ने देखिएकै छ । राजनीतिक रुपमा सरकार नभएको अवस्था छ । सरकार कस्तो र कसरी गठन हुन्छ भन्ने नै अन्योल छ । सरकार गठन भए पनि गैरदलीय सरकार गठन हुने सम्भावना रहेको हुँदा नीतिगत र कार्यान्वयन तहमा अनावश्यक दलीय दवाव र प्रभाव कम होला ।

अहिले मन्त्री र तिनका आसेपासेहरुको दवाव हुँदैन । अहिले कम्तिमा शान्ति सुरक्षा कायम गर्ने र निर्धारित अन्य कार्यहरु गरी नागरिकमा सुरक्षा र विश्वासको वातावरण निर्माण गर्नु अत्यावश्यक छ । यस्तो समयमा निष्पक्ष रुपमा शान्ति सुव्यवस्था, सेवा प्रवाह र स्वीकृत योजना तथा कार्यक्रमको निर्वाध कार्यान्वयन गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनाको सामान्य मर्मत संभार गर्दा हुन्छ वा वैकल्पिक न्यूनतम व्यवस्था गरेर हुन्छ ती संयन्त्रबाट हुने सेवालाई नियमित गर्नु आवश्यक छ । प्रशासनयन्त्र, खासगरी योग्य र इमान्दार प्रशासकहरुको लागि अहिलेको अवस्था चुनौती र अवसर दुबै हो । यस्तै विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुने । यस परिवेशमा नेपाली सेना लगायतका सुरक्षा निकायहरुसँग उचित समन्वय गरी आवश्यक व्यवस्था गर्न प्रशासकहरु सफल हुनुहुनेछ भन्ने कुरामा म चैं विश्वस्त छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *