सुशीला कार्कीलाई सिंगो देशले सहयोग र समर्थन गर्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरी भट्टराईले कार्कीलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्ने बताएका हुन् । उनले आफ्नोतर्फबाट कार्कीलाई पूर्ण समर्थन रहने उल्लेख गरेका छन् ।

उनले अब कार्कीलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कत्ति पनि मेल खाँदैन । त्यतिवेला विद्यमान ‘अन्तरिम संविधान २०६३ मा ’राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र ‘राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) वीचको सहमति बुझ्नुपर्छ’ भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो ।’

उनले अहिलेको आन्दोलन भन्दा पनि ठूलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजी को दीर्घकालीन हितमा हुने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *