काठमाडौँ । जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये बिहीबार राति ८ बजेसम्म एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ । यसरी नियन्त्रणमा लिइएकामा कैदीबन्दी एक हजार ५०९ जना र थुनुवा ५८ जना रहेका छन् । अझै १२ हजार ५३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले जानकारी दिए । उनले ७९५ जना थुनुवा पनि फरार रहेकाले खोजी जारी रहेको बताए ।
प्रहरी प्रधान कार्यालयले यसरी फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुमा सम्पर्कमा आउन सार्वजनिक अनुरोध गरिसकेको छ । उनीहरु सबै आगजनी तोडफोड गरी फरार भएका थिए ।