जेनजीको प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति रास्वपाको समर्थन रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति समर्थन रहने बताएको छ ।

पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले बिहीबार विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको मर्म, संघिय गणतान्त्रिक शासन व्यवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावना, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दछ। संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूप पछि संशोधनीय) राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्नेगरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ।’

उनले राष्ट्रपतिले प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइने अपेक्षा राखेको बताए छन् ।

त्यस्तै उनले संविधानको व्यापक संशोधन, भाद्र २३ को आन्दोलनमाथि भएको बर्बर दमन र तत्पश्चात भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरुमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणका लागि स्वतन्त्र आयोगहरुको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *