काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेनजी पुस्ताको माग संविधानको खारेजी र संसदको विघटन नभएपनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेको बताएका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहीबार विज्ञप्ति जारी गरी जेनजी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भएको बताएका हुन् । उनले लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने बताए ।
उनले भने, ‘तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । जेन–जी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेन–जी पुस्ता सचेत हुन जरुरी छ ।’
लोकतन्त्रविहीन राज्यमा भ्रष्टाचार र कुशासन विरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुने बताए ।