काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिएकी छन् ।
बिहीबार विज्ञप्ति जारी गरी यस्तो संवेदनशील घडीमा संविधानको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिएकी हुन् । उनले भनेकी छन्, ‘प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार कामचलाउ अवस्थामा छ। तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संस्थाहरू विद्यमान छन्। त्यसैले वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ ।’ उनले घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपाचारको व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।