सियोल । दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उनको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ । जु ए हालै बेइजिङको उच्चस्तरीय भ्रमणमा आफ्नो बुबासँग सहभागी भएकी थिइन् ।
यो भ्रमणमा उनले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटिन् । यसरी पहिलो आधिकारिक विदेश भ्रमण गर्दा किशोरी जु एले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय ध्यान तानेकी थिइन् ।
विश्लेषकहरूले लामो समयदेखि उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिरहेका छन् । तर केहीले उनको जेठो दाजुलाई पनि गोप्य रूपमा सत्ताका लागि तयार पारिएको हुन सक्ने सङ्केत दिएका थिए ।
‘जु एले सम्भावित उत्तराधिकारीका रूपमा आफ्नो स्थिति बलियो बनाउन पर्याप्त ‘क्रान्तिकारी कथा’ सुरक्षित गरेकी छन्’, दक्षिण कोरियाली सांसद ली सेओङ–क्वेनले भने, ‘चीन भ्रमणमा उनको सहभागिता पनि त्यही उत्तराधिकार कथाको अंश हो ।’
जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यतिबेला उनले बुबासँग अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण अवलोकन गरेकी थिइन् । त्यसपछि उत्तर कोरियाली राज्य मिडियाले उनलाई ‘प्रिय बच्चा’ र ‘मार्गदर्शन गर्ने महान व्यक्ति’ भनेर उल्लेख गर्न थाल्यो । यी शब्दहरू सामान्यतया शीर्ष नेताहरू र तिनका उत्तराधिकारीका लागि मात्र प्रयोग गरिन्छ ।
यसअघि उनको अस्तित्वको पुष्टि मात्र सन् २०१३ मा उत्तर कोरिया भ्रमण गरेका पूर्व एनबिए स्टार डेनिस रोडम्यानले गरेका थिए । उनले किम जोङ उनसँग भेट्दा जु एलाई भेटेको दाबी गरेका थिए ।
सियोलले सुरुमा किम र उनकी पत्नी रीले सन् २०१० मा पहिलो सन्तानका रूपमा पत्रुलाई जन्म दिएकी र जु ए दोस्रो सन्तान भएको सङ्केत गरेको थियो । तर सन् २०२३ मा दक्षिण कोरियाली एकीकरण मन्त्रीले किमको छोरा भएको विषयमा ‘निश्चित पुष्टि गर्न नसकिएको’ बताएका थिए ।
किम जोङ उन सन् २०११ मा आफ्नो बुबाको निधनपछि सत्तामा आए र उनले चार पटकको आणविक परीक्षण गराएका छन्, जसको पछिल्लो परीक्षण सन् २०१७ मा भएको थियो ।
सांसद लीका अनुसार, जु ए बाहेक किमको अर्को सन्तानबारे भएका अफवाहहरू – चाहे अपाङ्गता भएको वा विदेशमा अध्ययनरत रहेको – ‘विश्वसनीय छैनन् ।’
लीले भने, ‘विशेषगरी विदेश अध्ययनबारे कुरा हो भने, यस्तो कुरा लुकाउन खोजे पनि अनिवार्य रूपमा थाहा हुन्छ । त्यसैले यो सम्भावना निकै कम छ ।’