-महेश बर्तौला ।
‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’
लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृत्तिहरुकाबारेमा नागरिक तहमा प्रश्नहरु उठ्नु, त्यसप्रति असहमति जाहेर हुनु, खबरदारी गर्नु, विरोध वा आलोचना हुनु वा सरकारप्रति नै अरुची प्रकट भइ नयाँ सरकारको माग गर्नु लोकतन्त्रले दिएको सुन्दर अधिकार हो । तर लोकतान्त्रिक हकको उपयोग गर्दैगर्दा न्यूनतम कर्तव्य, जिम्वेवारी र राष्ट्रप्रतिको जवाफदेहितालाई भने कसैले पनि भुल्नु हुँदैन भन्ने कुरा सदैव ख्याल राख्नु पर्दछ । निरंकुशता र अधिनायकवादकाविरुद्ध लोकतन्त्रका लागी जीवनभर लडेका राजनीतिक दलहरु र नेतृत्वका लागि सत्ता वा सरकार कुनै अलौकिक महत्वका कुराहरु होइनन्, यो त जनताले निर्धारण गर्ने या फैसला गर्ने विषयहरु हुन् । मुख्य वा महत्वको कुरा त मुलुकको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्रको रक्षा तथा हाम्रा संवैधानिक प्रबन्धहरुको जिवन्तता नै हो ।
संसदवाट लोकतान्त्रिक विधिमार्फत बनेको अहिलेको सरकारले पनि जेनजी पुस्ताको सडकको आवाजलाई सम्मान गरेर सरकारबाट मार्ग प्रशस्त समेत गरिसकेको छ । संसदीय प्रणाली र लोकतन्त्रमा जनादेश तथा संसदको अंकगणित बमोजिम सरकार निर्माण हुने र विघटन हुने विषय स्वाभाविक र नियमित प्रकृया नै हो । यही प्रकृया बमोजिम अब छिट्टै नै संसदले संविधान बमोजिम नयाँ सरकार निर्माण गर्नुपर्दछ । यसको पहल र समन्वय सम्माननीय राष्ट्रपतिज्यूबाट शिघ्रातिशिघ्र हुनुपर्दछ । मुलुकमा सिर्जना हुने हरेक राजनीतिक घटना र प्रश्नहरुको निरुपण तथा समस्याको वैध र सर्वस्वीकार्य समाधान मुलुकको संवैधानिक प्रबन्धहरुले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्दछ ।
क्षणिक आवेग, उत्तेजना हडबड वा अल्पकालिन सोचबाट होइन । हाम्रो देशको संविधान, हामीले अवलम्बन गरिरहेको अहिलेको व्यवस्था र प्रणालीबाट मात्रै हामी हाम्रो देशको सुन्दर भविष्य निर्माण गर्न सक्छौं । यसबाट मात्रै हाम्रो अग्रजहरुले रगत बगाएर, लडेर जोगाएको देशको स्वाधिनता, सर्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्छौं । यतिबेला हामी र हाम्रो राष्ट्रकाविरुद्ध संविधान, व्यवस्था र प्रणालीमाथिनै खतरा उत्पन्न हुने गरि भयानक षड्यन्त्र हुन खोजिरहेको छ भन्नेतर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोचौं । इगोका आधारमा आफ्ना आफ्ना निजी मामिलाहरुका बारेमा होइन ।