काठमाडौं । नेपाल बार एशोसिएशनको भवन तथा सवारी साधन, सर्वोच्च अदालत लगायतका अड्डा अदालतहरुमा भएको आगजनी तोडफोड र लुटपाटका घटनाको भत्र्सना गरेका छन् ।
बुधबार बारले विज्ञप्ति जारी गरी आपसी वार्ता, मेलमिलाप र सहिष्णुताले मात्र प्रणाली सुदृढ हुन्छ तथा शान्ति सुरक्षा कायम हुने उल्लेख गरेको हो । उसले कानून व्यवसायीहरूको निजी आवास, कार्यालय लगायत निजी सम्पत्तिमा गरिएको तोडफोड र लुटपाटसम्बन्धी कार्यको निन्दा गरेको छ ।
बारले निजी तथा सार्वजनिक सम्पत्ति माथिको आगजनी तोडफोड र लुटपाट सहितको हिंसात्मक घटनाले आमनागरिकको जीउधनको सुरक्षामा गम्भीर चुनौती दिएको उल्लेख गरेको छ । परिस्थितिलाई थप अराजकता र मुठभेडतर्फ नलागी सबै पक्षलाई संयमता अपनाइ विवेक नगुमाउन बारले अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशैभरीका अदालत र बार एकाइहरुमा गरिएको आगजनी तोडफोड र लुटपाटले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ । जसको पीडा शब्दमा अभिव्यक्त हुन सक्दैन । नेपाली जनताको आस्थाको धरोहर, पुरातात्विक एवम् ऐतिहासिक महत्व बोकेका दस्तावेज एवम् न्याय निरुपणसम्बन्धी अभिलेख सहितको सर्वोच्च अदालत लगायतका अदालतहरूको भवन आगजनी भई अपुरणीय क्षति पुर्याएको घटना नेपाली न्यायिक इतिहास र नेपाली मौलिक परम्परामाथिको प्रहार भएको महसुस गरेका छौं ।’





