नत्र तपाईंले बनाउने नेपाललाई अर्को घूसपैठले आगो लगाइदिन्छ

-नारायण गाउँले ।

प्रिय जेन–जी,
तपाईंहरूले भ्रष्टाचारको विरोध र अभिव्यक्ति स्वतन्त्रताका निम्ति गर्ने भनेको शान्तिपूर्ण अभियानमा मेरो पूर्ण समर्थन थियो । तर यो इतिहासकै सबैभन्दा अशान्तमध्ये एक बन्यो । सोसल मिडिया बन्द गर्ने निर्णयविरुद्ध खुलेर लेखियो । सरकारलाई बन्दको विकल्प खोज्ने नम्र सल्लाह पनि दिइयो । भ्रष्टाचारविरुद्धको आन्दोलन, स्वतन्त्रताको पक्षमा आन्दोलन, त्यो पनि कुनै दलको सदस्य नभएको र मभन्दा धेरै कलिलो पुस्ताले । कसले समर्थन नगर्ला र ! हामी आन्दोलन भन्नेबित्तिकै टायर, ढुङ्गा र आगजनीको कालो इतिहास बोकेर हुर्केको पुस्ता थियौँ । एउटा नयाँ, सिर्जनशील र उदाहरणीय आन्दोलनको कल्पना हाम्रो मनमा थियो । सडकमा आउनुअघि नै सिङ्गो देशले कुनै न कुनै रूपले समर्थन गरेको यस्तो आन्दोलन बिरलै हुने गथ्र्यो । भ्रष्टाचारबाट देश साँच्चिकै पीडित थियो । राजनीतिमा केही व्यक्ति र परिवारको कब्जा जस्तै थियो । यस्तोमा सबैभन्दा कम उमेरको युवाले आबाज उठाउँदा त्यसलाई समर्थन गर्नु हाम्रो कर्तव्य नै थियो । यो पुस्ताले मथ्ने दहीबाट अर्कैले नौनी चोर्ने डर पनि प्रकट गरेकै हो ।

यो अभियान सडकमा नआउँदै यसले दिन खोजेको मेसेज कानैसम्म सुनिने गरी घन्किएकोमा खुसी हुँदै सफल भइसकेको अभिव्यक्ति पनि दिएको हो । सरकारले दुई दिनअघि सोसल मिडियामा सफल भइसकेको आन्दोलनलाई आँकलन गरेको भए र निर्णय सच्याएको भए यो यही रूपमा ठूलो नहुन पनि सक्थ्यो । पहिलो दिन अलिकति उत्तेजना देखिएको पक्का हो । तर १९ जना कलिला युवाको मृत्यु, टाउकोमैं लाग्ने गरी हानिएको गोली र अत्यधिक प्रहरी दमनको विरोध नगरी मनमा शान्ति मिलेन । अन्तर्राष्ट्रिय समुदायले समेत यस्तो क्रूर घटनाको विरोध गर्ने पक्का थियो । त्यो रातभर धेरै नेपाली निदाउन सकेनन् । त्यो देशका लागि कालो दिन थियो ।

त्यति धेरै दमन र मृत्युपछि भोलिपल्ट यसको असर ठूलो हुन्छ र नियन्त्रणबाहिर जान सक्छ भन्ने अनुमान सजिलै गर्न सकिन्थ्यो ।केपी ओलीजीलाई सम्बोधन गर्दै एकदम नम्रता र संवेदनापूर्वक माफी माग्न अनि तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह पनि गरेको हो । क्षति न्यून गर्ने त्यो अन्तिम अवसर थियो । अघिल्लो दिन नै सरकारले घुँडा टेकेको भए र भाषामा विनम्रता देखाएको भए शायद आजको यो दुर्घटना घट्ने थिएन ।

भोलिपल्टसम्म धेरै ढिलो भइसकेको थियो ! आवेग र आक्रोशको आगो देशभर सल्किसकेको थियो । केही नेताको सत्तालिप्सा, भ्रष्टता, क्षुद्रता र अदूरदर्शिताले गर्दा सिङ्गो देश आगोको मुश्लोमा दन्किसकेको थियो ! त्यो आगोमा नजल्नुपर्ने धेरै कुरा जलिरहेको थियो ।

लडाईं देशको सम्पदासँग थिएन । सिंहदरबार जस्ता ऐतिहासिक र कलात्मक भवन विदेशसँग त थुप्रै हुन्छन्, हामीसँग एउटै थियो । यो लडाइँ देशको एकमात्र गतिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग थिएन । अदालत जलाएर कानुनी राज्य निर्माण हुने पनि थिएन । न क्रूर हत्या र बलात्कारका मुद्दामा जेल परेका हजारौँ खतरनाक कैदीलाई समाजमा खुला छोडेर कुनै शान्ति र अमनचयन हासिल हुने थियो । मालपोत र सिडियो कार्यालयहरूमा हाम्रै जग्गाका रेकर्डहरू जले होलान् । भोलि दुःख पाउने सबैभन्दा निमुखो जनताले हो ।

देशबाट भगाउन खोजेको भ्रष्ट राजनैतिक पुस्ता त अब शायद सधैँका लागि बिदा भयो । तर जुन स्तरको क्षति देशले बेहोर्यो, त्यसको भरपाइ पनि अब सजिलो छैन । विदेशी शत्रुले हवाई हमला गर्दै महत्त्वपूर्ण संरचना र संस्थामा बम पड्काएजस्तो गन्ध आउने काम हामी आफैं गरिरहेका थियौँ । भौतिक संरचना त भोलि बन्ला, नबने टिनको छानोमुनि पनि सरकार चलाउन मिल्छ तर यो घटनाले देशभर शान्तिसुरक्षा र कानुनी राज्यको जग जसरी हल्लिएको छ त्यसलाई सामान्य बनाउन निकै गाह्रो हुनेछ । अराजकता कुनै पनि देशको समृद्धि, शान्ति र खुशीका निम्ति ठूलो बाधक हो ।

यसको ठूलो जिम्मा सरकारको हो । तर आन्दोलन आह्वान गरिसकेपछि यसलाई नियन्त्रणबाहिर जान नदिने कर्तव्य तपाईंहरूको पनि थियो । त्यसमा ठूलो चूक भयो । पक्कै यो आगो जेनजीको योजना, इच्छा र संलग्नतामा दन्किएको नहोला तर यसको जिम्मा सरकारले जस्तै ‘घूसपैठ’लाई दिएर चोखो बन्न मिल्दैन । सरकार नै नरहेको खबर बाहिर आएपछि पनि देशमा आगो दन्किरहनु र त्यसमा महत्त्वपूर्ण सार्वजनिक सम्पत्ति खरानी हुनु अर्को कालो दिन हो । आन्दोलनमा पर्चा र पम्पलेटले फोहर भयो भन्दै पार्टी र पूर्वराजालाई चिठ्ठी काट्ने जस्तो सुन्दर सिँढी चढिसकेको हामी फेरि ओर्लिन पर्ने भयो । एक किलोमिटर टाढा पनि नरहेको सेनाले सिंहदरबार जल्दै गर्दा बचाउने अलिकति पनि कोसिस नगर्नु निकै पीडादायी क्षण रह्यो ।

जे हुनु थियो त्यो भयो । तर जे नहुनु थियो त्यो पनि भयो । बढी नै भयो । यो अराजकता र हिंसा केही दिन रोकिएन भने यो देश फेरि उठ्नै नसक्ने गरी खरानी हुनेछ । धेरै अवसरवादी तत्त्वले खेल्ने ठाउँ पाउनेछन् । तत्काल यो संवेदनशीलतालाई मद्देनजर गर्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल रोक्न, आफ्नो योजना नभए पनि पुगेको क्षतिमा माफी माग्न र वार्तामा बस्न अनुरोध छ ! तपाईंहरूकै नीति र कार्यक्रमविपरीत निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगो लगाउनेहरूको पहिचान र कानुनी उपचार पनि त्यत्तिकै जरूरी छ । नत्र तपाईंले बनाउने नेपाललाई अर्को घूसपैठले आगो लगाइदिन्छ । अपराधी सरकारले ढिला गर्यो । ठूलो मानवीय क्षति भयो । तपाईंहरूले चार–पाँच घण्टा ढिला गर्दा अर्को क्षति भयो । अब थप क्षतिबाट देशलाई जोगाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *