इजरायली हवाई आक्रमणबाट सिरियाका विभिन्न सहर प्रभावित

दमस्कस । सिरियाली सरकारी समाचार संस्था सानाका अनुसार इजरायलका लडाकु विमानहरूले सिरियाका विभिन्न स्थानमा हवाई आक्रमण गरेका छन्।

उक्त आक्रमणबाट केन्द्रीय सिरियाको होम्स, तटीय सहर लाताकिया र ऐतिहासिक मरुभूमि सहर पाल्माइरा प्रभावित भएका छन्। ती स्थानहरूमा ठूलो विस्फोटको आवाज सुनिएको जनाइएको छ। हालसम्म मानवीय क्षति वा भौतिक विनाशसम्बन्धी विस्तृत विवरण सार्वजनिक भइनसकेको जनाइएको छ।

सिरियाको परराष्ट्र मन्त्रालयले यस कार्यको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको घोषणापत्रको स्पष्ट उल्लङ्घन’ भनेको छ। मन्त्रालयले इजरायली कारबाहीले सिरियाको सार्वभौमिकता र क्षेत्रीय स्थिरतामा प्रतिकूल प्रभाव पारेको बताउँदै, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले यस्ता आक्रमणहरू तुरुन्त रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको छ।

ब्रिटेनस्थित सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार, इजरायली विमानहरूले होम्सको दक्षिण–पूर्वमा रहेको एक वायुसेना इकाइलाई लक्षित गर्दै आक्रमण गरेका थिए, जसबाट केही हताहत भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। त्यस्तै लाताकियास्थित एक सैनिक ब्यारेकमाथि गरिएको अर्को आक्रमणपछि उद्धारका सवारी साधनहरू घटनास्थलमा पुगेको देखिएको उल्लेख गरिएको छ।

उक्त संस्थाका अनुसार इजरायली विमानहरू दक्षिणी सिरियाली आकाश प्रयोग गरेर आक्रमणमा संलग्न भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *